टोकियो, फागुन २८ गते । अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ । कम्पनीले यस पुनः संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झण्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ ।
होन्डाले दीर्घकालीन रूपमा विद्युतीय सवारी नै उत्तम समाधान हुने विश्वास गर्दै केही वर्षअघि इभीलाई केन्द्रमा राखेर रणनीतिक दिशा परिवर्तन गरेको जनाएको छ । कम्पनीका अनुसार त्यही दृष्टिकोणका आधारमा विद्युतीय सवारीलाई व्यापक बनाउने योजनासहित लगानी र उत्पादन विस्तार गरिएको थियो ।
तर पछिल्लो समय अमेरिकी सरकारको नीति परिवर्तन, विशेषगरी आयात शुल्क र प्रोत्साहन सम्बन्धी व्यवस्थाले अटो व्यवसायको नाफामा दबाब परेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले विद्युतीय सवारी खरिदमा दिइँदै आएको अमेरिकी कर प्रोत्साहन हटाइएको र जीवाश्म इन्धन सम्बन्धी नियम केही खुकुलो बनाइएकाले पनि बजारको वातावरण बदलिएको बताएको छ ।
त्यससँगै एसियाली बजारमा आफ्ना उत्पादनको प्रतिस्पर्धात्मकता घट्दै गएको कम्पनीको निष्कर्ष छ । विशेषगरी चीनमा प्रतिस्पर्धा बढेकाले त्यहाँ गरिएको केही लगानी रद्द गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना पनि कम्पनीले औँल्याएको छ । उत्तर अमेरिकामा विद्युतीय सवारीको बजार अपेक्षाभन्दा सुस्त देखिएपछि कम्पनीले त्यहाँका केही इभी मोडलको विकास र सार्वजनिक गर्ने योजना रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
होन्डाका अनुसार इभी रणनीतिको पुनर्मूल्याङ्कनसँग सम्बन्धित खर्च तथा सम्पत्तिलाई घाटाका रूपमा देखाउँदा ठूलो वित्तीय असर पर्नेछ । यी सम्पत्ति मूलतः विद्युतीय सवारी उत्पादनका लागि तयार पारिएका संरचना र पूर्वाधारसँग सम्बन्धित छन् । कम्पनीले चालु आर्थिक वर्षमा २५ खर्ब येनसम्मको खर्च र घाटा हुन सक्ने अनुमान गरेको छ । यो करिब १५ अर्ब ७० करोड डलर बराबर हुन्छ ।
यसका कारण चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले चार खर्ब २० अर्बदेखि छ खर्ब ९० अर्ब येनसम्मको शुद्ध घाटा व्यहोर्ने प्रक्षेपण गरेको छ । यसअघि कम्पनीले करिब तीन खर्ब येन नाफा हुने अनुमान गरेको थियो, तर अहिलेको परिस्थितिले त्यो पूर्वानुमान उल्ट्याएको हो । रासस/एएफपी