• २८ वैशाख २०८१, शुक्रबार

भेटियो सिनेमाघरले छोपेको टुकुचा

blog

काठमाडौँ, भदौ ३१ गते । दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि टुकुचा खोला भेटिएको छ । प्राकृतिक टुकुचालाई छोपे पनि टुकुचाको पानी बग्ने सानो नाला निर्माण गरी जग्गा भोगचलनमा रहेको छ ।  

काठमाडौँ महानगरपालिकाले बिहीबार सो सिनेमाघरको कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचा खोला मिचेर सिनेमाघरले जग्गा भोगचलन गरेको भेटिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनील लम्सालले महानगर क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियानअन्तर्गत नै नक्साअनुसार गरिएको मार्किङका आधारमा उत्खनन गर्दा सो खोला भेटिएको बताउनुभयो । करिब १५ फिट खोतल्दा खोला भेटिएको हो । उहाँका अनुसार सिनेमाघर क्षेत्रमा इँटाको सुरुङ बनाएर खोलालाई छोपिएको छ । खोला छोप्न नारायणहिटी दरबारको पर्खालदेखि नै सुरुङ निर्माण गरिएको पाइएको छ । सुरुङ निर्माण सुरु गरिएको ठाउँमा विक्रम संवत् २०२२ लेखिएको पाइएको छ । यद्यपि नारायणहिटी दरबारभित्र सो खोला प्राकृतिक रूपमा बग्दै आएको छ ।

महानगरले साउन १२ गते सूचना जारी गरेर टुकुचा क्षेत्रको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको सचिवालय सदस्य लम्सालले बताउनुभयो । तत्कालीन राजा महेन्द्र र रानी रत्नको डेटिङ स्पटका रूपमा समेत प्रख्यात रहेको सो सिनेमाघर २००९ सालमा स्थापना गरिएको थियो ।

हटाइयो ड्राइभिङ सेन्टर

महानगरपालिकाले अवैध संरचना हटाउने क्रममा नै महानगरको वडा नम्बर १६ बालाजुको माछापोखरीस्थित सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टर हटाएको छ । त्यहाँको १७ रोपनी सार्वजनिक जग्गामा निजी रूपमा गुरुङ ड्राइभिङ सेन्टर सञ्चालन गरिँदै आइएको थियो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले त्यसलाई हटाइएको जानकारी दिनुभयो ।