• १३ असोज २०८२, सोमबार

उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

blog

उग्रतारा भगवती मन्दिरमा लागेको अष्टमी मेला । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, असोज १३ गते । सूदूरपश्चिम प्रदेशमा रहेका नौवटा भगवतीका मन्दिरहरू मध्यको एक मन्दिर उग्रतारा मन्दिरमा सोमबार अष्टिमी मेला लागेको छ । उग्रतारा मन्दिरमा घटस्थापनाको दिनदेखि आठौं दिन पूजाआजासहित मेला लाग्नेगरेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले जानकारी दिनुभयो । 

आईतबार साँझपख मन्दिरमा पूजाआजा गरिएपछि सोमबार बिहानदेखि मेला लागेको उहाँले बताउनुभयो । अष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा र बोकाको बलिसमेत चढाउने धार्मिक परम्परा रहिआएको छ । भाकल गरेकाहरुले दाइन, दमाह, रुईसिँग, बिकुल, घण्ट आदि बाजागाजासहित राँगा मन्दिरमा पुगाउने परम्परा रहेको उहाँले बताउनुभयो । 

किम्बदन्तिअनुसार करिब दुई हजार पाँचसय वर्ष पहिले हालको अमरगढी नगरपालिका –८ लटाउली गाउँबस्ने साँकी जातिका स्थानीयले खेतीपाती गर्न गह्रामा हलो जोत्दैगर्दा हलोको फाली लागेर एउटा शिलाबाट रगत बग्न थाल्यो । माटोले रगत रोक्दा रोकिएन । आफूलाई खान ल्याएको खिचडीले रगत रोक्दा रोकियो । त्यसपछि यस स्थानमा देवी उत्पन्न भएर दर्शन मिलेको थियो भन्ने किंवदन्ती छ ।

त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवती मन्दिरमा पूजा गरिँदैआएको छ । तिनै लटाउली गाउँका साँकी र भट्टका पण्डित अहिले पुजारी रहनुभएको छ । 

साँकी जातीले अमरगढी नगरपालिका–तिलाडी पोखराका पार्की हाल कैनी जातीलाई अनुमती दिई राँगा काट्न भनेपछि अष्टमीका दिन भगवतीको पूजाआजासहित मेला लागी राँगाको बलि सुरु हुन्छ । बलि दिइएका राँगाको मासु पार्की कैनी जातीले उपभोग गर्नेगरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो । भाकलका आधारमा मनोकामना पूरा भएपछि राँगा र बोकाको बलि दिइने धार्मिक परम्परा र चलन रहिआएको उहाँले बताउनुभयो । 

उग्रतारा भगवतीको उत्पति हुँदा साँकी जातिको खेतमा पार्की जातिका व्यक्तिले हलो जोतिरहेको र रगत कुनै हालतमा नरोकिएपछि आफूले खान ल्याएको खिचडीले रगत रोक्ने प्रयास गरेपछि रोकिएको किम्बदन्ति छ । त्यसकारण साँकी जाति पछि उग्रतारा मन्दिरमा पार्की कैनीजातीको महत्व हुन्छ । 

उहाँकाअनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ । दसैँको दिन पनि भव्य पूजा गरिन्छ । अष्टमीका दिन बिहान अमरगढी नगरपालिका ६ को दुुमडा र छचोडा गाउँ, अमरगढी नगरपालिका –८ को खनमडा गाउँ र अमरगढी नगरपालिका –५ को जिलोडा गाउँबाट (देउरा) बाजागाजाँसंगै देवताको आभुषणसहितको डोली ल्याउने गरिन्छ । 

यी चारवटा गाउँमा भएका देउरा सुनचाँदीका गरगहनासहितको डोली, भोकर, बिकुल घण्टासंगै दाहिन दमाह बजाउदै नेताध्वजासहित देउरो मन्दिरमा ल्याइन्छ । दसैँका दिन पूजाआजा सकिएपछि टीका लगाई देउरो लगेर पुनः गाउँ फर्किने धार्मिक परम्परा सदियौँदेखि रहिआएको छ । 

उग्रतारा मन्दिर बिशाल फाँटमा रहेको छ । डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नु पर्दैन । यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ । उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महपूूजा तथा ठुलो मेला लाग्ने गर्दछ ।