• २७ वैशाख २०८१, बिहिबार

खाली भयो टेकुको फोहोर स्टेसन

blog

काठमाडौँ, भदौ २५ गते । करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ। छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ  थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चैत १५ गते त्यहाँको सबै फोहोरको व्यवस्थापन गरिएको थियो।

उहाँले भन्नुभयो, ‘‘विभिन्न कारणले टेकुमा थुप्रिएको फोहोरको व्यवस्थापन हुनु एउटा ठूलो सफलता हो जस्तै लागेको छ। कुनै बाधा अवरोध हुँदैन भने अबका दिनमा त्यहाँ फोहोर थुप्रिँदैन। हरेक दिन टेकु स्टेसनमा सङ्कलन भई आएका फोहोरको व्यवस्थापन सोही दिन हुने भएको छ।’’

साउन २८ गतेदेखि नियमित रूपमा फोहोरको व्यवस्थापन हुँदै आएको छ। यस अवधिमा टेकुबाट दुई हजार टिप्पर फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लगेर विसर्जन गरिएको छ।

लागू भएन फोहोर छुट्याउने प्रावधान

महानगरपालिकाले साउन १ गतेदेखि लागू गर्ने भनिएको कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन कार्य अझै लागू हुन सकेको छैन। महानगरले साउन १ गतेदेखि उत्सर्जन हुने ठाउँमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्न आउने सवारीसाधनसम्म ल्याउने प्रावधान कडाइका साथ लागू गर्ने बताएको थियो। 

महानगरले कुहिने र नकुहिने फोहोर फरक फरक दिनमा छुट्टाछुट्टै सवारीसाधनमा सङ्कलन गरिने भनेको थियो। त्यसैले कुहिने फोहोर सङ्कलन गरिने दिन कुहिने र नकुहिने फोहोर सङ्कलन गरिने दिन सोही फोहोर सवासीसाधनसम्म ल्याउनुपर्ने बताइएको थियो।

महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्ने व्यवस्था गरेको थियो। जसअनुसार आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने भनिएको थियो। कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याउनेको फोहोर सङ्लन नगर्नुका साथै फोहोर व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपियाँ जरिवाना गरिनेसमेत भनिएको थियो तर सो प्रावधान अहिलेसम्म लागू नै हुन सकेको छैन।