• २३ वैशाख २०८१, आइतबार

तीज हाम्रो संस्कृति र मौलिकता

तीजले विकृति पनि फैलायो, यो रोक्नुपर्छ

blog

काठमाडौं, भदौ १२ गते । 

वर्षौ भयो पर्देशी भाको, बहिनीसँग भेट नभाको

यसपालि त आउ दाजु फर्केर तिम्री बहिनी बस्याछु पर्खेर....

नेपाली महिलामा धेरै दिनअघिदेखि नै तीजको रौनक छुट्टै छाएको छ । हिन्दु धर्मावलम्बी नारीहरुको महान् तथा विशेष चाडको रुपमा लिइने यस पर्वमा महिलाले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन पुरानो हो ।

धेरै वर्षअघिदेखि तीज गीतमा शब्द भर्दै आउनुभएका लेखक तथा गायिका अम्बिका बस्नेतले यस वर्ष पनि दाजु बहिनीसँग सम्बन्धित नयाँ तीज साङ्गीतिक कोसेली ल्याउनुभएको छ  ।

उहाँ आफैँ लेख्ने र आफैं गाउने पनि गर्नुहुन्छ । यस वर्षको तीज विशेषमा आफ्नो जीवनको कथालाई नै उहाँले गीतको रुपमा प्रस्तुत गर्नुभएको बताउनुभयो । समाज परिवर्तन गर्नका लागि समाजमै भएका घटनाको गीत बनाउन जरुरी छ, जसमा विभिन्न महिला दिदीबहिनीहरुको कथा जोडिएको हुन्छ । उहाँ भन्नुहुन्छ, “सबै सर्जकहरुले कथा, व्यथा र भावनामा डुबेर तीज विशेष साङ्गीतिक कोसेली ल्याउने गर्नुहुन्छ ।”

समाजमा यस्ता महिला पनि छन् जसले आफ्नो घरबाट आफूले चाहे जस्तो सुख पाउन सकेका छैनन् । त्यस कारण तीजमा यस्ता यथार्थ घटनाहरुलाई पोख्नका लागि सङ्गीतको मद्दत लिने गरिने उहाँको भनाइ छ ।  

“तीज वर्षमा एकदिन मात्र मनाउनुपर्छ । तर अचेल महिनौं अघिदेखि दर खाने नाउँमा समाजमा विकृति फैलिँदै गएको देखिन्छ,” उहाँले भन्नुभयो । तीज अचेल हुनेखाने परिवारका लागि मात्र बनेको पर्व जस्तो देखिएको उहाँको अनुभव छ ।

तीज हिन्दु महिलाहरुका लागि महत्ववूर्ण चाड हो । पछिल्लो समय तीजको संस्कृति पनि विकृतितिर धकेलिँदै गएको देखिन्छ । समाजमा हरेक महिलाहरुलाई अवसर दिने हो भने पुरुषभन्दा अघि बढ्ने क्षमता राख्छन्, तर महिलाका लागि यही तीजको एक दिन मात्रै उत्साह, उमङ्ग, जोश जाँगर बढाएर रमाइलो गर्न पाउने देखिएको उहाँ बताउनुहुन्छ ।

महिला भएकै कारण संस्कृति झल्काउन र सभ्य समाजको निर्माण गर्नका लागि अश्लील गीतभन्दा पनि यथार्थ समेटिनुपर्ने उहाँले बताउनुभयो । “म आफैंले गाएको गीत पनि टिपिकल छैन जस्तो लाग्छ मलाई,” उहाँ भन्नुहुन्छ,  “पुराना गीतहरु जस्तो आजको दिनमा कुनै पनि गीत बनेको छैन ।”

तीजमा शिव भगवानको आराधना गरेर राम्रो श्रीमान् पाउन ध्यान साधना गर्ने परम्परागत संस्कृति छ । तीज अचेल सबै समुदायमा लोकप्रिय बनेको छ । तीजमा दर खाने, व्रत बस्ने सबै संस्कृति सबैले अँगालेको देखिन्छ ।

प्रस्तुत छ: तीज विशेषका लागि फोटोपत्रकारद्वय मनोजरत्न शाहीकेशब गुरुङले क्यामरामा कैद गर्नुभएको श्रव्य–दृश्य संवाद: