गाईघाट समाचारदाता
गाईघाट, चैत २५ गते । उदयपुरको प्राकृतिक, धार्मिक र सांस्कृतिक धरोहरका रूपमा रहेको रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने भएको छ । ‘कला, संस्कार र संस्कृतिको उत्थान तथा पर्यटन प्रवर्धन’ भन्ने आदर्श वाक्यसहित रौता क्षेत्रको सांस्कृतिक र धार्मिक महत्वलाई राष्ट्रव्यापी बनाउने उद्देश्यले पहिलोपल्ट महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
समितिले पत्रकार सम्मेलनमार्फत आगामी २०८२ चैत २९ देखि २०८३ वैशाख ३ सम्म महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो । कोशी प्रदेश अन्तर्गत पर्ने उदयपुरको रौतामाई गाउँपालिका–६ मा अवस्थित रौतापोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व भएको क्षेत्र हो ।
समुद्री सतहबाट करिब पाँच हजार पाँच सय फिट उचाइमा रहेको यस पोखरीआसपासका क्षेत्र हरियाली जङ्गल, जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी र जडीबुटीले समृद्ध छ । यहाँको शान्त वातावरण, खुला आकाश र हिमशृङ्खलासहितको दृश्यले जोकोहीलाई आकर्षित गर्ने गर्छ । मौसम सफा भएका दिनमा सगरमाथासहित पूर्वी नेपालका विभिन्न हिमाल र उच्च पहाडी भूभागको दृश्यावलोकन गर्न सकिने विशेषता यस क्षेत्रको थप आकर्षण हो ।
स्थानीय जनविश्वास र किंवदन्तीले रौतापोखरीलाई अझ रहस्यमय र धार्मिक बनाएको छ । मगर भाषाबाट उत्पत्ति भएको ‘रौताहा’ शब्दसँग जोडिएको यस पोखरीको नामकरणले यहाँको मौलिक पहिचान झल्काउँछ । प्राचीन कथन अनुसार भेडा चराउने क्रममा यहाँ आइपुगेका व्यक्तिसँग सम्बन्धित घटना तथा भाकलका प्रसङ्गले यस क्षेत्रप्रतिको धार्मिक आस्था बलियो बनाएको पाइन्छ ।
पोखरीको उत्तरपश्चिमतर्फ रहेको रौतामाई मन्दिरले यस क्षेत्रलाई तीर्थस्थलका रूपमा चिनाएको छ । प्रत्येक वर्ष वैशाख १ गते लाग्ने मेला स्थानीय मात्र नभई टाढा टाढाबाट आउने श्रद्धालु र पर्यटकको भेटघाटको थलो बन्दै आएकोमा यस वर्ष महोत्सव नै लगाइने रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनुभयो ।