• २५ चैत २०८२, बुधबार

वडा तहदेखि योजना छनोटमा ध्यान दिन आग्रह

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत २५ गते । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले आवश्यकताका आधारमा योजनालाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । रुकुमपश्चिम, जाजरकोटमा प्रदेश सरकार र अन्य निकायद्वारा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री बुढाले बस्तीस्तरबाटै माग भई आएका योजना छनोट गर्न सुझाव दिनुभयो । 

उहाँले मन्त्रालय अब योजना निर्माणको चरणमा रहेकाले अत्यावश्यक योजनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो । सरकारले लगानी गरेर पूरा हुन नसकेका योजनालाई प्राथमिकता दिएर पूरा गर्नतर्फ लागेको उल्लेख गर्दै उहाँले विकासका आयोजना गुणस्तरीय र समयमै निर्माण गर्न र योजना हस्तान्तरणपछि दिगोपनाको विषयमा पनि गम्भीर हुन आग्रह गर्नुभयो । आगामी आर्थिक वर्षका लागि अहिले बजेट निर्माणको चरणमा रहेकाले जनताका खास समस्यालाई मात्रै योजना बैङ्कमा समेट्नुपर्ने उहाँले बताउनुभयो । 

प्राथमिकताका आधारमा छनोट गरिएका योजनाले लक्षित समुदायलाई प्रत्यक्ष लाभ हुने र कार्यान्वयनमा समेत सहजता हुने भएकाले वडा तहदेखि नै योजना छनोटमा ध्यान दिन मन्त्री बुढाले आग्रह गर्नुभयो । विकासका कार्यमा अपनत्व नभएसम्म प्रतिफल नआउने भएकाले उपभोक्ता र सरोकारवाला निकायले दीर्घकालीन रूपले सोच्नुपर्ने उहाँको भनाइ छ । 

मन्त्री बुढाले रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाको वडा नं. १, ३, र ९, मुसीकोट नगरपालिकाको वडा नं. १, १४ म सञ्चालित विभिन्न योजनाको अनुगमन गर्नुभएको हो । सो क्रममा उहाँले खानेपानी तथा सिँचाइ, तटबन्धन, सरसफाइ, स्वास्थ्य क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गर्नुभयो । युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा कार्यान्वयन भएको सानीभेरी गाउँपालिकाको वडा नं. १ चाइनाबगरस्थित किदरुख–साइरावन–चाइनाबगर खानेपानी योजना र मुसीकोट नगरपालिका–१४ स्थित सुवाखेला–कुमालगाउँ खानेपानी योजनाको समेत उहाँले अनुगमन गर्नुभएको छ । चाइनाबगर क्षेत्रका ८० घरधुरीमा एक घर एक खानेपानी, चार सार्वजनिक स्थानमा शुद्धीकरण गसिीकोट १४ का ६० घरधुरीमा एक घर एक धारा कार्यक्रममार्फत समुदाय लाभान्वित भएका छन् ।