• १६ वैशाख २०८१, आइतबार

मानव तस्करीबारे अनुसन्धान सुरु

blog

काठमाडौँ, भदौ १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा खाडी मुलुक जानेक्रममा फर्काइएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्।

बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गराएको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भिजिट भिसाको आवरणमा हुन सक्ने मानव तस्करी रोक्न प्रहरीले विमानस्थलबाट फर्काइएको घटनाबारे अनुसन्धान सुरु गरेको बताउनुभयो। उहाँले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सीआईबी, मानव बेचविखन अनुसन्धान ब्युरोलाई निर्देशन दिएको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “प्रारम्भिक चरणको अनुसन्धानबाट बनावटी कागज तयार गरी भिजिट भिसा दुरुपयोग भएको देखिएको छ। यसबारे हामी गम्भीर अनुसन्धान गरिरहेका छौँ।” अधिकांश यात्रुको कागजपत्र बनावटी र नक्कली भएको शङ्कापछि सीआईबीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले यात्रुका कागजपत्र अनुसन्धान भइरहेको बताउनुभयो। 

विमानस्थलबाट फर्काइएका अधिकांश यात्रुलाई कुवेतबाट इरान र इराक पु-याउन लागिएको शङ्का प्रहरीले गरेको छ। यसअघि ती मुलुक पु-याइएका सयभन्दा बढी महिला बेचविखनमा परेका थिए। मानव तस्करीको शङ्कामा मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टै अनुसन्धान अघि बढाएको छ। ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भिजिट भिसाको माध्यमबाट हुन सक्ने मानव तस्करी तथा तस्करीमा संलग्न हुन सक्ने व्यक्तिबारे समेत अनुसन्धान सुरु गरिएको बताउनुभयो। मानव बेचविखनविरुद्धको कसुरमा अनुसन्धान गर्न पीडितको उजुरी आवश्यक पर्ने भएकाले ब्युरोले पीडितसँग सोधपुछ गरिरहेको मल्लले बताउनुभयो।

भिजिट भिसामा जाने अधिकांश यात्रुको दुईतर्फी टिकट अनिवार्य गरिएको छ। अध्यागमन पार गरेपछि अधिकांश यात्रुले फिर्ता हुने टिकट रद्द गराएको पाइएको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यी घटनामा त्रिभुवन अध्यागमन विभागको मिलेमतो हो वा कमजोरी भन्ने प्रश्न उठेको छ। 

पटक–पटक समस्या 

भिजिट भिसामा नेपाली युवा खाडीमा पठाइएको यो पहिलो घटना होइन। २०७८ पुस, माघमा त्रिभुवन विमानस्थल अध्यागमनबाट ठूलो सङ्ख्यामा यात्रु पठाइएको खुलेको थियो। यसरी भिजिट भिसामा खाडी मुलुक पुगेका युवा अलपत्र परेका र महिला बेचविखन तथा बन्धकमा परेका घटना सार्वजनिक भएपछि भिजिट भिसामा जान रोक लगाइएको थियो। 

त्यसको दुरुपयोग र विदेशमा अलपत्र नेपालीबारे अध्ययन गरी समस्या समाधानका लागि गृह मन्त्रालयले कार्यदल नै गठन ग-यो। सो प्रतिवेदनअनुसार समस्या समाधानका लागि अध्यागमन विभागले कार्यविधि तयार ग-यो। २०७८ फागुन २७ गते अध्यागमनले भिजिट भिसाका लागि जारी गरेको १८बुँदे कार्यविधि कार्यान्वयनमा पुनः दुरुपयोग भएको पाइएको हो।

कार्यविधिमा पर्यटन भिसा वा भिजिट भिसामा विदेश जाने नेपाली यात्रुका लागि वार्षिक न्यूनतम आय छ लाख आयस्रोत र त्यसको कर तिरेको हुनुपर्छ। कम्तीमा तीन लाख रुपियाँ बैङ्क ब्यालेन्स रहेको र मासिक न्यूनतम ५० हजार रुपियाँ आम्दानी गरेको हुनुपर्छ। खाडी मुलुकमा दुई÷तीन पटक वा अन्य मुलुकमा कम्तीमा एक पटक भ्रमण गरेको, सम्बन्धित देशको भाषा वा अङ्ग्रेजी भाषा ज्ञान भएको तथा कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको व्यक्तिले मात्र भिजिट भिसामा यात्रा गर्न पाउने उल्लेख छ। 

आफ्नै परिवारका सदस्यले बोलाएमा र गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासले अनुमति दिएमा मात्र भिजिट भिसा लिन पाउने व्यवस्था गरिएको छ। बुधबार र बिहीबार विमानस्थलबाट फर्काइएका अधिकांश महिलाले प्राथमिक तहको शिक्षामात्र लिएका र पहिलो पटक विदेश उड्न लागेका र अधिकांशका कागजपत्र बनावटी रहेको पाइएको छ।