• ७ वैशाख २०८१, शुक्रबार

निर्वाचन सुरक्षामा पूर्व सुरक्षाकर्मी पनि

blog

काठमाडौँ साउन २४ गते । आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेश तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन गृह मन्त्रालय सुरक्षा तयारी र व्यवस्थापनमा जुटेको छ ।

त्यसका लागि रक्षा मन्त्रालय र निर्वाचन आयोगसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि चारवटै सुरक्षा निकायबाहेक अवकाश प्राप्त सुरक्षाकर्मी तथा म्यादी प्रहरीसमेत परिचालन गरी विगतका निर्वाचनभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनको सुरक्षार्थ झन्डै ७० हजार सैनिक, ६२ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ९० हजार म्यादी परिचालन गरिएको थियो ।

उहाँले निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने स्रोतसाधन र बन्दोबस्तीबारे अध्ययन भइरहेको जानकारी दिनुभयो ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयका सचिवको नेतृत्वमा नेपाल प्रहरीका महानिरीक्षक, नेपाली सेनाका रथी, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक रहेको केन्द्रीय संयुक्त निर्वाचन ‘सेल’ गठन गर्ने तयारी भइरहेको जनाएको छ । 

गृह मन्त्रालयअन्तर्गतको सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव नेतृत्वमा सातवटै प्रदेश सुरक्षा प्रमुख रहेको सात सदस्यीय छुट्टै निर्वाचन सेल गठन गरी प्रभावकारी सुरक्षा पूर्वतयारी 

गृहकार्य भएको छ ।

यसबाहेक सातवटै प्रदेशका मुख्य सचिवको नेतृत्वमा प्रदेश सम्पर्क तथा समन्वय सेल गठन गर्ने र ७७ वटै जिल्लाको निर्वाचन सुरक्षार्थ ‘निर्वाचन कमान्ड पोस्ट तथा निर्वाचन सेल’ गठन गर्ने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न गृह मन्त्रालयले चारवटै सुरक्षा निकायबाट  ब्यारेक वा युनिट तथा महत्त्वपूर्ण संरचना, कारागार, विमानस्थलमा खटिएका  सुरक्षाकर्मीबाहेकका सबै सेना, प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रस्ताव गरेको छ ।  

विगतमा सम्पन्न भएको निर्वाचनको अनुभवका आधारमा गृह मन्त्रालयले सुरक्षा योजना, पूर्वतयारी तथा व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ ।    

जसअनुसार निर्वाचन स्थल र मतपेटिकाको सुरक्षा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीमार्फत गर्ने र मतदान स्थलको बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाली सेना र सशस्त्र प्रहरी संयुक्त गर्ने तयारी भइरहेको छ ।

मतपेटिकाको ढुवानी र मतदान सकिएपछि मतगणना स्थलसम्मको ढुवानीको जिम्मा नेपाली सेनालाई दिने र मतगणना सम्पन्न नहुँदासम्म चारवटै सुरक्षा निकाय परिचालन गर्ने तयारी भइरहेको छ । त्यसका लागि आवश्यक पर्ने बन्दोबस्ती, सुरक्षा सामग्री तथा सञ्चार उपकरणबारे सुरक्षा निकायबाट प्रस्ताव माग गरिएको छ ।