• ५ जेठ २०८१, शनिबार

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद, मुख्य अस्पतालमा समस्या

blog

काठमाडौँ, साउन १८ गते । कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् ।

अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन । तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ । 

करारमा रहेका जनशक्तिले नै धानिरहेको वीर अस्पतालमा जनशक्ति कम हुँदा आईसीयू/भेन्टिलेटर सञ्चालनमा समस्या परेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताउनुभयो । उहाँले करारमा राखिएका स्टाफ नर्स हटाउने हो भने आईसीयू मात्र नभई अस्पतालका अन्य स्वास्थ्य सेवा पनि बन्द हुने बताउनुभयो । 

वीर अस्पतालमा नर्ससहित, फर्मासिस्ट, पारामेडिक्स तथा प्रशासनसमेत करार सेवामा राखिएका स्वास्थ्यकर्मीले धानेको अवस्था छ । 

हामीलाई तत्काल तीन सय नर्सको आवश्यकता छ, निर्देशक डा. बस्नेतले भन्नुभयो, “तीन सय नर्स लोकसेवाबाट नआएसम्म करारमा भएको जनशक्ति हटाउन सक्ने अवस्था छैन ।” 

कोरोनाअघिसम्म १५ बेड आईसीयू 

पूर्ण रूपमा सञ्चालनमा रहेकोमा हाल वीर अस्पतालमा ६८ वटा आईसीयू भेन्टिलेटरसहित सञ्चालनमा छन् । 

यस्तै यही समस्याले कोरोनाको उपचारमा अब्बल मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भेन्टिलेटरसहितका २४ आईसीयू बन्द हुने अवस्थामा पुगेका छन् । स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेबित्तिकै करारमा भएको जनशक्तिले काम गर्न छाडेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमले भन्नुभयो, “करार स्वास्थ्यकर्मीबाट सञ्चालित २४ वटा भेन्टिलेटरसहितका आईसीयू बन्द भएका छन् ।” 

उहाँले यस विषयमा स्वास्थ्यमन्त्री र सचिवलाई भेट्दा टेकु अस्पतालको हकमा करारका कर्मचारी हटाउने विषय लागू नहुने भनेको तर निर्णय नहुँदा समस्या भइरहेको बताउनुभयो ।

पुनः कोरोना सङ्क्रमण बढ्दै गएकाले करारमा स्वास्थ्यकर्मी राख्नुपर्ने गौतमको भनाइ छ । टेकु अस्पतालमा हाल ६८ जना स्वास्थ्यकर्मी करारमा छन् । तीमध्ये २१ जना नर्स, तीन जना मेडिकल अफिसर, सात जना पारामेडिक्स, चार जना ल्याबमा स्वास्थ्यकर्मी राखिएका छन् । स्वास्थ्यकर्मीको अवधि नथपिएपछि कोरोनाकालमा थपिएका २१ बेड आईसीयू बन्द हुने अवस्थामा रहेको छ । 

गौतमले करारमा रहेका स्वास्थ्यकर्मीका कारण आईसीयू मात्र बन्द हुने नभई अरू स्वास्थ्य  सेवासमेत प्रभावित भएको जानकारी दिनुभयो । उहाँले पीसीआर सेवा पहिलेभन्दा कम भएको, रेबिजविरुद्धको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा पनि बन्द भएको र कोरोनाविरुद्धको भ्याक्सिन सेवा पनि बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

उहाँले जनशक्ति अभावले रेडियोलोजी, ओपीडी, कोरोनाविरुद्धको खोपलगायतका स्वास्थ्य सेवामा समस्या देखिएको बताउनुभयो । 

यता कान्ति बाल अस्पतालमा त्यस्तै समस्या छ । कान्तिमा १४१ जना स्वास्थ्यकर्मी करार सेवामा कार्यरत छन् । कान्ति अस्पतालका निर्देशक डा. युवा बसौलाले करार सेवामा भएका स्वास्थ्यकर्मीको विषयमा स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिएको बताउनुभयो । करारमा राखिएका स्वास्थ्यकर्मी हटाउने हो भने कुनै पनि सेवा सञ्चालन गर्न नसक्ने उहाँको भनाइ छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले कोरोनामा राखिएका जनशक्तिलाई तलब खुवाउन गाह्रो हुने भएकाले नराख्ने निर्णय गरिएको बताउनुभयो । अर्थले तलब खुवाउन रकम निकासा नगर्ने हो भने कोरोनामा राखिएका जनशक्तिको अवधि थप गर्न नसक्ने उहाँको भनाइ छ । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।