• ३ असोज २०८२, शुक्रबार

बालबालिकामा अटिजम बढ्दो समस्या

blog

काठमाडौँ, असोज ३ गते । नेपालमा बालबालिकामा अटिजमको समस्या बढ्दो रूपमा देखा परेको छ । नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुल चार हजार ८८६ जनालाई अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ तर विश्व स्वास्थ्य सङ्गठन यो सङ्ख्या धेरै कम भएको बताउँछ । सङ्गठनका अनुसार नेपालमा तीन लाख जनसङ्ख्यामा अटिजम भएको अनुमान छ । 

अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले जनगणनामा कम सङ्ख्यामा अटिजम भएका बालबालिकाको तथ्याङ्क देखिए पनि यो सङ्ख्या अनुमानित तीन लाख पुग्ने जानकारी दिनुभयो । डा. अमात्यका अनुसार अटिजम एक प्रकारको ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ हो । अटिजम भएका बालबालिकाले सामान्य बालबालिका सरह गतिविधि देखाउन सक्दैनन् । अटिजम भएका बालबालिकामा उमेर अनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास, एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास हुँदैन ।

अटिजमको लक्षणमा बच्चाले सञ्चार गर्न नसक्ने, बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहो¥याउने र फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रिया देखाउने, खेलौना नखेलाई बस्ने, साना बच्चासँग नखेल्ने, एकोहोरो हुने जस्ता लक्षण देखिन्छन् । बच्चालाई अटिजम भए पनि ढिला पत्ता लाग्ने हुनाले समस्या उत्पन्न हुने गर्छ । अटिजम भएका बालबालिकाको असामान्य व्यवहारले गर्दा उनीहरूको हेरचाह र रेखदेखका लागि एक जना अभिभावक अनिवार्य आवश्यक हुन्छ । 

सामान्यता दुईदेखि अढाई वर्षको अन्तरमा अटिजम पत्ता लगाउन सकिन्छ । बालबालिकालाई जन्मजात नै अपाङ्गता हुने अटिजम समस्याबाट एक प्रतिशत नेपाली पीडित छन् । नेपालमा अटिजमको समस्या भएका बालबालिकाको आधिकारिक तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वको कुल जनसङ्ख्याको एक प्रतिशतमा अटिजमसम्बन्धी समस्या रहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालयले अटिजम भएका बालबालिकाको उपचारमा प्राथमिकता दिइएको जानकारी गराउनुभयो । मन्त्रालयले अटिजम भएका बालबालिकाको उपचार, उनीहरूको शिक्षादीक्षा तथा रोगको पहिचानका लागि समिति बनाएर काम गरेको जानकारी दिँदै उहाँले उक्त समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरिने बताउनुभयो । 

हाल अटिजम भएका बालबालिकालाई स्वास्थ्य, शिक्षादेखि उनीहरूको हेरचाह उनीहरूकै अभिभावकले गर्नुपर्ने अवस्था छ ।  अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको सन् २०२३ को अध्ययन अनुसार ३१ जनामध्ये एक जनालाई अटिजम भएको पाइन्छ । अटिजमलाई पूर्ण रूपमा निको गर्न नसकिने भएकाले यसलाई रोगका रूपमा नभई अपाङ्गताका रूपमा मान्यता दिइएको छ । अटिजम हुनुका कारण वंशाणुगतलाई आधार मानिन्छ तर हालसम्म पनि अटिजमको मुख्य कारण पत्ता लाग्न सकेको छैन । 

डा. अमात्यले अटिजम भएका बालबालिकाका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु रहेको बताउनुभयो । उनीहरू शिक्षा, स्वास्थ्यबाट पनि विमुख रहेका छन् । उहाँले अटिजमका लागि औषधी उपचार नभए पनि उनीहरूमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी गर्ने गरिएको बताउनुभयो । 

अटिजम भएका बालबालिकालाई व्यावहारिक तथा सञ्चार थेरापी र अकुपेसन थेरापीका माध्यमबाट मात्र उपचार गर्न सकिने भन्दै डा. अमात्यले उनीहरूलाई खेलको माध्यमबाट धेरै कुरा सिकाउने गरिएको बताउनुभयो । उहाँका अनुसार अटिजम भएका बालबालिकालाई तालिम दिएर उनीहरूको क्षमता अनुसारको काम दियो भने दिएको काम गर्न सक्छन् । अटिजमको समस्या छोरीभन्दा छोरा मानिसलाई धेरै हुने पनि उहाँ बताउनुहुन्छ । छोरी मानिसमा ४:१ को अनुपातमा मात्र अटिजम हुने गरेको छ । नेपालमा अझै धेरै अभिभावक र शिक्षक अटिजमबारे सचेत छैनन् । ग्रामीण क्षेत्रमा त यो विषय अझै अपरिचित जस्तै छ । विशेष गरी विद्यालय तहमा अटिजम भएका बालबालिकाको पहिचान र उचित शिक्षाको अभाव रहेको विज्ञहरूको भनाइ छ ।


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।