• ११ असोज २०८२, शनिबार

सन्दर्भ : विश्व फर्मासिस्ट दिवस

फर्मासिस्ट नै डाक्टर बन्दा बिरामीको ज्यान जोखिममा

blog

काठमाडौँ, असोज १० गते ।  मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी । मानिसहरू दाँत दुख्यो, पेट दुख्यो, ज्वरो आयो, खोकी लाग्यो, टाउको दुख्यो भन्दै सबैभन्दा पहिले फार्मेसी पुग्ने गर्छन् । सहर होस् या गाउँमा सबैभन्दा पहिले फार्मेसीमा पुगेर सरसल्लाह गर्ने र फार्मेसीमा फर्मासिस्टले बिरामीले भनेको भरमा औषधी दिने गरेका छन् । फार्मेसीले नधान्ने अवस्थामा जटिल समस्या भए मात्र बिरामी अस्पताल जाने गर्छन् । 

भक्तपुरको एक फार्मेसीमा दाँत दुख्यो भनेर पुग्नुभएकी मेनुका शर्मालाई फार्मेसीमा कार्यरत फर्मासिस्टले एक हजार १८० रुपियाँको चार किसिमको औषधी थमाएर पठाउनुभयो । फर्मासिस्टले एन्टिबायोटिक, पेनकिलर महँगो पर्ने मञ्जन र कुल्ला गर्नका लागि झोल औषधी थमाएर पठाउनुभयो । उहाँले चिकित्सककहाँ जान सुझाव दिनु भएन । यो औषधीले भएन भने फेरि आउनु अझ कडा औषधी दिन्छु, त्यसले ठिक गर्छ भन्दै पठाउनुभयो । दाँत के कारणले दुखेको हो भन्ने पहिचानबिना ती युवती औषधी बोकेर घर जानुभयो । 

यस्तै धनगढीका एक युवा खुट्टा दुखेर फार्मेसी जानुभयो । जुन बेला दुख्छ, त्यही बेला मात्र पेनकिलर खानूस् दुखेन भने खानु पर्दैन भनेर उहाँलाई पठाइयो । एक एक घण्टामा दुखाइ कम नभएपछि उहाँले त्यस्ता औषधी धेरै खानुभयो । अन्त्यमा उहाँको मिर्गौला फेल भयो । यी उदाहरण मात्र हुन् । औषधीसम्बन्धी राम्रो ज्ञान नभएका कारण र फर्मासिस्टले राम्रोसँग काउन्सिलिङ नगरेका कारण धेरै मानिसको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । 

औषधीसम्बन्धी नियमन गर्ने निकाय औषधी व्यवस्था विभाग, फर्मासिस्टसम्बन्धी नियमन गर्ने फार्मेसी काउन्सिलले बिरामीको स्वास्थ्यमाथि केन्द्रित भएर काम गर्न सकेका छैनन् । 

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजङ्ग पाण्डेले एन्टिबायोटिक र पेनकिलर जस्ता औषधी चिकित्सकको प्रेस्किप्सनबिना बिक्रीवितरण गर्न नपाइने बताउनुभयो । नेपालमा कानुन छ तर कार्यान्वयन छैन,” अध्यक्ष पाण्डेले भन्नुभयो, “कानुन कार्यान्वयनका लागि काउन्सिल मात्र नभएर बिरामी र फर्मासिस्टको महŒवपूर्ण भूमिका रहन्छ ।” उहाँले फर्मासिस्टले व्यापार मात्र नहेरी बिरामीको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । काउन्सिलका रजिस्ट्रार सञ्जीवकुमार पाण्डेयले गुणस्तरीय औषधीमा जोड दिँदै बिरामीले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । काउन्सिललाई त्यस्ता फार्मेसीविरुद्ध उजुरी दिन आग्रह गर्दै उजुरी परेमा कारबाही गरिने बताउनुभयो । काउन्सिलले वर्षमा तीन वटा परीक्षा लिने गरेको, सिपमूलक कार्यव्रmम, नीति संवादलगायतका कार्यव्रmम राख्ने गरेको जानकारी पनि उहाँले दिनुभयो । फर्मासिस्टले औषधी दिने र बिरामीलाई काउन्सिलिङ गर्ने दायित्व रहेको बताउनुभयो । नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले फार्मेसी र फर्मासिस्टको गलत कार्य गर्न रोक्नुपर्ने बताउँदै लाइसेन्स बिव्रmी गर्न बन्द गरिनुपर्नेमा जोड दिनुभयो । पेसागत त्रुटि भएमा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । नेपालमा हाल फार्मेसी सहायक १५ हजार ९४० र स्नातक गरेका फर्मासिस्टको सङ्ख्या आठ हजार ५३ रहेको छ । यसैबिच बिहीबार विश्व फर्मासिस्ट दिवस विभिन्न कार्यव्रmमसाथ मनाइएको छ । हरेक वर्ष २५ सेप्टेम्बरमा विश्व फर्मासिस्ट दिवस मनाउने गरिन्छ । विश्व फर्मासिस्ट दिवसको नारा ‘स्वास्थ्य सोच्दा, फर्मासिस्ट सम्झनुहोस्’ भन्ने रहेको छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।