• ११ असोज २०८२, शनिबार

ज्येष्ठ नागरिकमा अल्जाइमरको समस्या

blog

काठमाडौँ, असोज ७ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक एक सयभन्दा बढी सङ्ख्यामा ज्येष्ठ नागरिक आउने गर्छन् । तीमध्ये तीन जना ज्येष्ठ नागरिकमा अल्जाइमरको समस्या देखिने गरेको छ । 

प्रतिष्ठानका वरिष्ठ ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलले नेपालमा अल्जाइमरको समस्या बढिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपचारका क्रममा ओपिडी (बहिरङ्ग कक्ष) मा दैनिक एक सय ज्येष्ठ नागरिक आउने गरेका छन् । तीमध्ये तीन जनालाई अल्जाइमरको समस्या देखिने गरेको छ ।” 

डा. कँडेलका अनुसार ६० वर्ष नाघेपछि अधिकांशमा अल्जाइमर रोग देखिने गर्छ । अल्जाइमर रोग ज्येष्ठ नागरिकमा देखिने प्रमुख समस्या हो । यसको मुख्य लक्षण भनेको सुरुवाती अवस्थामा एउटै कुरा दोहो¥याउँदै जाने गर्छन् । बिस्तारै रोग बल्झँदै गएपछि साबिकमा गरिरहेका काम गर्न समस्या हुन्छ । जटिल अवस्थामा पुगिसकेपछि बिरामीले पूर्ण रूपमा अशक्त हुन्छन् । सामान्य नित्यकर्मका लागि पनि परिवारको भर पर्नुपर्ने अवस्था आउने गर्छ । ६५ वर्षभन्दा कम उमेरमा भने अल्जाइमर रोग चार प्रतिशतलाई मात्र देखिन्छ । ६५ वर्षमाथि ९५ प्रतिशत देखिने गर्छ । ज्येष्ठ नागरिकलाई बिर्सने रोग लागेपछि उनीहरूले मैले बिर्सन्छु भन्ने कुरा नै बिर्सने गरेको डा. कँडेल बताउनुहुन्छ ।

सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ३५ हजार मानिस अल्जाइमर रोगबाट पीडित छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा भएको अनुसन्धानमा एक लाख ३५ हजार अल्जाइमरका बिरामी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

तथ्याङ्क अनुसार हिमाल, पहाड र तराईका जिल्लालाई केन्द्रित गरेर अनुसन्धान गरिएको थियो । ती जिल्लामा हुम्ला, काभ्रेपलाञ्चोक र सिराहा छन् । ती तीन जिल्लाका ६० वर्षमाथिका ९३३ जनालाई आधार बनाएर अध्ययन गरिएको थियो । डा. कँडेलले हालसम्म अल्जाइमर ठिक गर्ने औषधीको विकास नभइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार औषधीले अल्जाइमरलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण रूपमा भने ठिक गर्न सकिन्न ।

 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।