• ६ कात्तिक २०८२, बिहिबार

नेपालगन्जमा आरसिटी सेन्टर सञ्चालन

blog

दाँत उपचारका लागि सञ्चालनमा ल्याइएको आरसिटी सेन्टर । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ६ गते । गुणस्तरीय दन्त उपचार सेवाका लागि नेपालगन्जमा आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) सेन्टरसहितको मेट्रो डेन्टल एन्ड रुट क्यानल सेन्टर सञ्चालन गरिएको छ । 

नेपालगन्ज–११, बीपीचोकस्थित नर्सिङ होमको अगाडि सञ्चालनमा आएको उक्त डेन्टल क्लिनिक नेपालगन्जको पहिलो आरसिटी सेन्टर भएको जनाउँदै आरसिटी विशेषज्ञ डा.बसन्तराज न्यौपानेले यो सेन्टरले दन्त परीक्षण, विशेषज्ञ परामर्श र दाँतसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्ने बताउनुभयो । 

उहाँले स्थानीयलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउनु सेन्टरको मुख्य उद्देश्य रहेको जनाउँदै बिरामीहरूको समस्याका आधारमा अन्य विशेषज्ञहरू समेत उपचारका लागि उपलब्ध गराइने बताउनुभयो । 

सो सेन्टरका सञ्चालक समेत रहनु भएका आरसिटी विशेषज्ञ डा. न्यौपाने हाल नेपालगन्जमा एकमात्र आरसिटी विशेषज्ञ हुनुहुन्छ । दाँतको जरासम्म पुगेर आरसिटी विशेषज्ञद्वारा गरिने उपचारलाई आरसिटी भनिन्छ । 

सो सेन्टरमा विशेषज्ञ डा. न्यौपानेसँगै दन्त उपचारमा अनुभव बटुलेका अन्य दन्त चिकित्सकहरू डा. सुशील चौधरी र डा. युवराज अधिकारीले पनि नियमित सेवा प्रदान गर्नुहुने छ । 

मेट्रो डेन्टल एन्ड रुट क्यानल सेन्टरलाई भविष्यमा नेपालगन्जकै अत्याधुनिक सुविधा सम्पन्न डेन्टल अस्पतालका रूपमा विस्तार गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।