• २४ असोज २०८२, शुक्रबार

जेनजी आन्दोलनका घाइतेको चाहना भ्रष्टाचारमुक्त देश

blog

लिजा अधिकारी / मुकेश अवस्थी

काठमाडौँ, असोज २४ गते । डडेलधुरा, अमरगढी–५, तुफानडाँडाका मुकेश अवस्थी आउँदो माघ महिनामा सिभिल इन्जिनियर अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । विडम्बना गत महिना भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएर उहाँको अस्ट्रेलिया जाने सपना चकनाचुर भएको छ । २२ वर्षीय मुकेशको अस्ट्रेलियाको भिसा लागिसकेको थियो । नेपालबाट सबइन्जिनियरको अध्ययन सकेर इन्जिनियरिङ अध्ययनका लागि उहाँ अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । 

जेनजी आन्दोलनका क्रममा उहाँको देब्रे खुट्टामा गोली लागेपछि तत्काल ट्रमा सेन्टरमा ल्याइयो । चिकित्सकहरूले गोली लागेको खुट्ट नकाट्न धेरै प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन । अन्ततः उहाँको बायाँ खुट्टा काट्नु प¥यो । “अझै सङ्क्रमण बढेको अवस्थामा तिघ्रासम्मको भाग काट्नु पर्छ भन्नुभएको छ,” अवस्थीले भन्नुभयो, “मेरो खुट्टा काटिए पनि देशमा भ्रष्टाचारको अन्त्य भएर देश विकास भए हुने थियो ।” 

उहाँले आन्दोलन भएको एक महिनाको अन्तरालमा जेनजीले गरेको आन्दोलनको भाव अनुसारको प्रगति हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । ‘एक महिनाको अवधि हेर्दा जेनजीले उठाएका माग सम्बोधन हुने कुनै सङ्केत छैन,” अवस्थीले भन्नुभयो, “उही पुराना नेताहरू उठ्ने र उनीहरूले जित्ने सम्भावना भयो भने पुनः जेनजी आन्दोलन गर्नुको विकल्प छैन ।”  जेनजीले देखेको सपना पूरा हुनेमा शङ्का व्यक्त गर्दै उहाँले आफूले अस्पतालको शय्याबाट भ्रष्टाचारमुक्त राष्ट्र चाहेको बताउनुभयो । उहाँले देश विकास, शिक्षा, स्वास्थ्य रोजगारी जस्ता विषयलाई प्राथमिकता दिएर युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।  

मुकेश एक महिनाअघि मात्रै सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा एक कन्सलटेन्सीबाट सहायक सुपरभाइजर पदमा कार्यरत हुनुहुन्थ्यो । “जेनजीको आन्दोलन हुन्छ भन्ने पहिल्यै थाहा थियो,” उहाँले भन्नुभयो, “कार्यालयमा बिदा लिएर म आफैँ आन्दोलनमा पुगेको थिएँ तर विडम्बना आफ्नै खुट्टा गुमाउन पुगेँ ।” घाइते मुकेशले देशमा प्रत्यक्ष कार्यकारीको व्यवस्था नभएसम्म देश विकास हुन नसक्ने दाबी पनि गर्नुभयो । जेनजी आन्दोलनमा विद्यार्थीलगायत समूहले शान्तिपूर्ण आन्दोलन गर्ने भनेको थियो । उहाँले भन्नुभयो, “घुसपैठ भएका कारण ठुलो दुर्घटना हुन पुग्यो ।”

यस्तै मोरङ रतुवामाई नगरपालिका–८ की लिजा अधिकारी जेनजी आन्दोलनका क्रममा पछाडिबाट कुममा गोली लागेर घाइते हुनुभएको छ । बालकुमारीस्थित कुसम कलेजमा बिबिए सातौँ सेमेस्टरमा अध्ययनरत लिजा आन्दोलन सुरु हुनुभन्दा केही दिनअघि मात्र जेनजी समूहमा जोडिनुभएको थियो । विद्यार्थी पोसाकमा जाने भएकाले यस्तो भयावह स्थिति आउला भनेर उहाँले कल्पनासमेत गर्नुभएको थिएन । उहाँले भन्नुभयो, “देश विकास भएदेखि मेरो मन शान्त हुने थियो ।” 

जुन उद्देश्यले जेनजी आन्दोलन भएको थियो, त्यो आन्दोलन अनुसार अहिले केही हुन नसकेको उहाँको पनि भनाइ छ । आन्दोलनमा बानेश्वरमा विद्यार्थीको भीडमाथि आक्रमण भयो । 

आक्रमणमा केही व्यक्तिको मृत्यु हुनासाथ उहाँ घर जान लाग्नुभएको थियो, सोही समय उहाँलाई गोली लाग्यो । नयाँ बानेश्वर चोकमा स्ट्यान्डर चार्टर बैङ्क अगाडि हुँदा उहाँमाथि गोली लागेको थियो । 

भ्रष्टाचारविरुद्धको आवाज उठाउँदै गर्दा सरकारले जेनजीको शान्तिपूर्ण आन्दोलनमा दमन गरेकाले भीड आक्रोशित भएको उहाँको भनाइ छ । एक महिनाअघिदेखि ट्रमा सेन्टरमा उपचाररत लिजालाई देशमा भ्रष्टाचारमुक्त नेपाल भएको हेर्ने चाहना छ । मलाई मेरो देश विकास होस्, स्वास्थ्य, शिक्षा निःशुल्क होस्, योग्यता अनुसारको रोजगारी सबैले पाऊन्, देश विकसित राष्ट्रतर्फ उन्मुख भएको हेर्न चाहन्थेँ भन्दै उहाँले भन्नुभयो, “तर यही अवस्थामा मैले चाहेको नेपाल र जेनजीको माग अनुसारको परिवर्तन सम्भव छैन ।” आन्दोलनमा यति धेरै मानिसको मृत्यु हुन्छ र आफू घाइते हुनु पर्छ भन्ने कुनै शङ्का थिएन । उहाँले भन्नुभयो, “मलगायत सयौँ जना घाइते हुनुभएको छ, धेरैको मृत्यु भएको छ, त्यही अनुसार देशको मुहार फेरिनु पर्छ ।” 

लिजाले जेनजी आन्दोलनमा प्रहरीमाथि ढुङ्गामुढा नगर्न आग्रह गर्दा पनि अनियन्त्रित भीडले कुरा नसुनेर प्रहरीलाई ढुङ्गामुढा गरेको बताउनुभयो । आन्दोलनमा घुसपैठ भएको ठोकुवा गर्दै उहाँले घुसपैठ नभएको भए आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो ।  


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।