नवीनराज कुइँकेल
लमजुङ, कात्तिक ५ गते । लमजुङको मर्स्याङदी गाउँपालिका –८ स्थित घट्टेखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक चितवन भरतपुर महानगरपालिका –१७ भुवनवस्तीका ३१ वर्षीय विकास परियार रहेका छन् ।
उहाँ भदौ २२ गतेदेखि मर्स्याङदी गाउँपालिका –७ तरान्चेस्थित मामाघर आइतमान परियारको घरमा बस्दै आउनुभएको थियो । मंगलबार दिउँसो साढे ४ बजेतिर घट्टेखोलास्थित बाटो छेउमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो ।
मृतकको मामा आइतमानका अनुसार मृतक विकास परियार बिहानै घरबाट निस्किनुभएको थियो । परियारको शव मुचुल्का र प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमका लागि बेंसीसहरस्थित प्रदेश अस्पतालमा राखिएको छ । निज अत्यधिक मादक पदार्थ सेवन गर्ने बुझिएकोमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।