मस्को, कात्तिक ६ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणसमेत समावेश गरिएको बताइएको छ ।
क्रेमलिनका अनुसार रूसको ‘आणविक त्रिकोण’-स्थल, समुद्र र हावाबाट मिसाइल प्रहार गर्न सक्ने क्षमता-समावेश गरिएको उक्त युद्धाभ्यासका क्रममा उत्तर पश्चिमी रूसको प्लेसेत्स्क प्रक्षेपण केन्द्रबाट यर्स आइसिबिएम प्रक्षेपण गरिएको थियो । त्यस्तै, बेरेन्ट्स सागरमा तैनाथ पनडुब्बीबाट सिनेभा आइसिबिएम प्रक्षेपण गरिएको र टियु-९५ रणनीतिक बम वर्षकले लामो दूरीका क्रुज मिसाइल प्रहार गरेको बताइएको छ ।
क्रेमलिनले विज्ञप्तिमा भनेको छ, “यो अभ्यासले सैन्य कमान्ड संरचनाको दक्षता र प्रतिक्रियात्मक क्षमताको परीक्षण गरेको छ ।” सेनाको जनरल स्टाफ प्रमुख, जनरल भ्यालेरी गेरासिमोभले भिडियो लिङ्कमार्फत राष्ट्रपति पुटिनलाई प्रतिवेदन दिँदै अभ्यासको मुख्य उद्देश्य ‘आणविक हतियार प्रयोगका लागि अनुमति प्रक्रियाको अभ्यास’ रहेको बताउनुभयो ।
अभ्यासका क्रममा राष्ट्रपति पुटिन गोलो सेतो टेबलमा एक्लै बस्नुभएको थियो । उहाँको अगाडि ठुला पर्दामा गेरासिमोभ र रक्षामन्त्री आन्द्रेई बेलोसोभ देखिनुभएको थियो । सम्भावित युद्धको अवस्थामा यिनै तीनजना शीर्ष अधिकारी आणविक हतियार प्रक्षेपणका लागि जिम्मेवार हुने बताइएको छ ।
राष्ट्रपति पुटिनले युद्धाभ्यास पहिले नै निर्धारित कार्यक्रमअनुसार गरिएको भन्दै त्यसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलन स्थगित हुने घटनासँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । तर यो अभ्यास ट्रम्पले बुडापेस्टमा पुटिनसँगको आफ्नो नियोजित छोटो बैठक ‘समयको बर्बादी’ हुन सक्ने भन्दै स्थगित गरेको केही घण्टापछि भएको थियो ।
अमेरिकी पक्षले गत हप्ता उक्त बैठकको घोषणा गरेको थियो, तर सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रूसी विदेशमन्त्री सर्गेई लाभरोभबीच भएको टेलिफोन वार्तापछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो । लाभरोभले मङ्गलबारको टिप्पणीमा रूसले युक्रेनमा तत्काल युद्धविरामको विरोध गर्ने बताउँदै लामो अवधिको स्थायी शान्ति वार्ता अघि परिस्थितिको स्पष्ट मूल्याङ्कन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यसैबिच, राष्ट्रपति ट्रम्पले पनि युक्रेनसँग सम्बन्धित प्रमुख मुद्दामा-विशेष गरी रुसद्वारा कब्जा गरिएका भूमि फिर्ता गर्नुपर्ने विषयमा-गत वर्षदेखि नै आफ्नो धारणा परिवर्तन गर्दै आएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पुटिन-ट्रम्प शिखर सम्मेलनलाई ‘गम्भीर तयारी आवश्यक हुने उच्चस्तरीय संवाद’ का रूपमा वर्णन गर्दै भन्नुभयो, “राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिन दुवै अत्यन्त कार्यकुशल नेता हुनुहुन्छ । कसैले पनि आफ्नो समय बर्बाद गर्न चाहँदैन । प्रभावकारी परिणामका लागि तयारी अनिवार्य हुन्छ ।” रास/ एपी