रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ६ गते । गुल्मीमा एक क्लब जसले तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन गरेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ। यस जिल्लाको सदरमुकाम तम्घासस्थित खुकुरी युथ क्लबले स्थापना कालदेखि नै देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमम खर्च गर्दै आएको क्लबका अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो।
तम्घासकै सिद्धबाबा मावि र रिडर्स पब्लिक हाइ स्कुलका कक्षा १० अध्ययनरत विद्यार्थीको सक्रियतामा विसं. २०७३ सालमा खुकुरी ब्यान्डका रूपमा खोलिएको यो क्लब विसं. २०७९ मा जिल्ला प्रशासन कार्यालमा दर्ता भएसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रियता देखाएको हो। क्लबले यस वर्ष पनि देउसीभैलोबाट सङ्कलन भएको रकम सामाजिक कार्यमा लगाउने भएको छ। साउन्ड सिस्टम भाडामा ल्याइएको छ।
सङ्गीत सामग्रीसहित अन्य विभिन्न सामग्रीहरू क्लबले आफै किनेर ल्याएको छ। ती सबै सामग्रीहरू क्लबले देउसीभैलोसँगै विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति देखाएर सङ्कलन भएको आम्दानीबाट जुटाएको उहाँले बताउनुभयो। रमाइलोका लागि खेलेको देउसीभैलोले संस्कृति मनाउनुका साथै सङ्कलन भएको रकमबाट सामाजिक काममा प्रयोग हुने विभिन्न सामग्री खरिद गरिने छ।
क्लबले विगत दस वर्षदेखि तम्घासको चिदिचौरमा रमाइलो होलि कार्यक्रम, विभिन्न घटना परिघटना अनुसार जनचेतना मूलक कार्यक्रम, स्थानीय धार्मिक एवम् पर्यटकीय स्थलमा सरसफाइ, डस्टबिन वितरण, ट्राफिक साङ्केतिक सूचना पार्टी र ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रवेश सङ्केत गर्ने होर्डिङ बोर्ड पनि क्लबले राखेको छ।
त्यसैगरी विभिन्न खेलाडी र कलाकारहरूलाई प्रोत्सान, विभिन्न बिरामीहरूलाई आर्थिक सहयोग गरेको अध्यक्ष टण्डनले जानकारी दिनभयो। गुल्मी जिल्लामै पहिलो पटक अन्तर विद्यालयस्तरीय खुकुरी क्रिकेट कप प्रतियोगिता, आफनै अफिसियल म्युजिक भिडियो तम्घास बजार रिलिज र म्युजिक वर्कसप समेत गरिएको छ। क्लबको आर्थिक स्रोत नभएपनि देउसीभैलो र चन्दाको भरमा काम गरेको उहाँले बताउनुभयो।