• १६ असार २०८१, आइतबार

अर्थतन्त्रमा झिनो सुधारको प्रक्षेपण

blog

काठमाडौँ, साउन १४ गते । विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । 

आईएमएफको ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको तुलनामा झिनो सुधार हो । अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । 

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो । अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ । 

यी समस्याबीच नेपालको अर्थतन्त्रमा झिनो भए पनि सुधार हुने अनुमान आईएमएफले गरेको हो । यद्यपि आईएमएफको यो प्रक्षेपण नेपाल सरकारले बजेटमा चालू आर्थिक वर्षका लागि लिएको लक्ष्यको तुलनामा धेरै कम हो । सरकारले बजेटमार्फत चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । 

प्रतिवेदनले नेपालको अर्थतन्त्रमा क्रमिक सुधारको पनि सङ्केत गरेको छ । अर्को वर्ष अर्थात् सन् २०२३ सम्म नेपालको अर्थतन्त्रमा सुधार आई ५ प्रतिशतसम्मको वृद्धिदर हासिल हुने प्रक्षेपण छ ।

नेपालसमेत समावेश एसिया र प्रशान्त क्षेत्रको समग्र अर्थतन्त्रको वृद्धिदर भने झन् सुस्त हुने आईएमएफले जनाएको छ । विश्वव्यापी आर्थिक परिदृश्य नै अनिश्चिततातर्फ गएको र रुस–युक्रेन युद्धको झट्का कायम नै रहेकाले यस क्षेत्रको समग्र अर्थतन्त्रमा भने सुधार नहुने प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि सन् २०२२ मा औसत ४.२ प्रतिशत रहनेछ । यो अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा ०.७ प्रतिशत बिन्दुले कम हो । सन् २०२१ को तुलनामा त यो धेरै कम हो । २०२१ मा यस क्षेत्रले ६.५ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । 

आईएमएफको जुलाईमा सार्वजनिक प्रतिवेदनले यस वर्षको वृद्धिदर मात्र संशोधन गरेको छैन, आगामी वर्षको वृद्धिदर पनि घटाएको छ । जसअनुसार यसअघिको प्रक्षेपणको तुलनामा यस क्षेत्रको वृद्धिदर ०.५ प्रतिशत बिन्दुले घटेर ४.६ प्रतिशत पुग्ने अनुमान छ । आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतको वृद्धिदर सन् २०२१ को ८.७ प्रतिशतको तुलनामा सन् २०२२ मा ७.४ प्रतिशत पुग्नेछ, जुन यस क्षेत्रको सबैभन्दा उच्च वृद्धिदर प्रक्षेपण हो । 

उत्पादन सङ्कुचन बेहोरिरहेको चीनको आर्थिक वृद्धिदर अघिल्लो वर्षको ८.१ प्रतिशतबाट घटेर २०२२ मा ३.३ प्रतिशत पुग्नेछ । गत वर्ष १७.९ प्रतिशतको ऋणात्मक वृद्धिदर भोगेको म्यानमारमा भने यस वर्ष १.६ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । यस क्षेत्रका उदीयमान बजार र विकासोन्मुख अर्थतन्त्रका तुलनामा यो कम भए पनि विगतको ऋणात्मक अवस्थाबाट भने म्यानमारमा व्यापक सुधार भएको देखिन्छ । 

यस क्षेत्रका सबल अर्थतन्त्र मानिएका अस्टे«लिया, जापान र दक्षिण कोरियाको वृद्धिदर भने गत वर्षको तुलनामा घट्ने प्रक्षेपण छ । गत वर्ष क्रमशः ४.८, १.७ र ४.१ प्रतिशतको वृद्धिदर हासिल गरेका यी मुलुकको यस वर्षको वृद्धिदर भने ३.८, १.७ र २.३ प्रतिशत हुने अनुमान छ ।