• २ असार २०८१, आइतबार

सिन्धुलीमाढी–चकमके सडक निर्माण सुस्त

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन ११ गते । सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमके जोड्ने सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य सुस्त भएको छ। सडकअन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाई निर्माण सुरु गरिए पनि पहिलो खण्डअन्तर्गत जीर्घासम्मको १४ दशमलव ५६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन नसकेको स्थानीयको गुनासो छ।

प्रादेशिक सडक कार्यालय सिन्धुलीका अनुसार पहिलो खण्डमा करिब सात किलोमिटर जङ्गल क्षेत्र पर्ने र उक्त क्षेत्रमा रुख काट्न डिभिजन वन कार्यालयले नदिँदा समस्या भएको हो। पहिलो खण्ड सडक निर्माणका लागि आशिष डीएस हेटौँडाले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २६ गते ठेक्का सम्झौता गरेको थियो। पहिलो खण्ड सडकको सम्झौताको म्याद गत असार २५ मा सकिएको छ।

सबै प्रक्रिया पूरा गरी रुख काट्ने फाइल वन विभागमा गएर अड्किएको र वनको समस्या समाधान नभएसम्म उक्त सडक नबन्ने कार्यालय प्रमुख देवनारायणप्रसाद यादवले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त २८ किलोमिटर सडकमध्ये दोस्रो खण्ड चार किलोमिटर र तेस्रो खण्ड १० किलोमिटर रहेको छ। दोस्रो खण्डको निर्माण कार्य धमाधम भइरहेको र तेस्रो खण्ड दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी यही असारमा सम्झौता भएको हो।

सडकको स्तरोन्नति गरी कालोपत्रेसहित निर्माण हुने तीनवटै खण्डको कुल लागत ७० करोड रुपियाँ रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो। कच्ची सडक निर्माण भएको करिब दुई दशकपछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीदेखि चकमके सडकलाई कलोपत्रेसहित निर्माण सुरु हुँदा उत्साहित बनेका स्थानीय सडकको निर्माण कार्य सुस्त भएपछि निराश देखिएका छन्। जीर्घा निवासी दावा तामाङ सडकको निर्माण कार्य दुई वर्षमा ४० प्रतिशत पनि प्रगति नभएको बताउनुहुन्छ।

उक्त सडकअन्तर्गत गड्यौली खोला, जीर्घा खोला, चँदाहा खोलामा पक्कीपुल निर्माण पूरा भई सञ्चालनमा आए पनि सडक निर्माण कहिले पूरा हुने भन्ने अन्योल रहेको उहाँले गुनासो गर्नुभयो। प्रादेशिक सडक कार्यालय र डिभिजन वन कार्यालयबीच समन्वय नहुँदा यो समस्या आएको स्थानीयको बुझाइ छ।

प्रादेशिक सडक कार्यालयका अनुसार सडकको चौडाइ १२ मिटर हुने र त्यसमध्ये सात मिटर कालोपत्रे हुनेछ। नालाको चौडाइ एक दशमलव दुई मिटर रहने जनाइएको छ। उक्त सडक निर्माण पूरा भएपछि सिन्धुलीमाढीदेखि चकमकेसम्म बाह्रै महिना यातायात सञ्चालनमा आउने भएकोले स्थानीयवासीलाई सुविधा पुग्ने देखिएको छ।