• २५ कात्तिक २०८२, मङ्गलबार

संसद् पुनर्स्थापना हुनुपर्छ : नेता अधिकारी

blog

नेकपा एमाले पोखरा महानगर कमिटीले शिशुवाचोकमा गरेको कोणसभामा सम्बोधन गर्नुहुँदै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारी । तस्बिरः माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), कात्तिक २५ गते । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधानलाई लिकमा ल्याउन छोटो समयको लागि भए पनि संसद् पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । 

जेनजी आन्दोलपछि उत्पन्न परिस्थितिमा लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि भन्दै एमाले पोखरा महानगर कमिटीले मङ्गलबार पोखरामा प्रदर्शन गरेको छ । सोपछि कोणसभामा बोल्दै उहाँले संविधान संशोधन संसदबाट मात्र गर्न सकिने बताउनुभयो । 

“असंवैधानिक रुपमा संसद् विघटन गरिएको छ” उहाँले भन्नुभयो, “नवयुवाहरुको मागलाई पूरा गर्नेगरी संविधान र कानुन संशोधन गर्न नेकपा (एमाले) तयार छ ।” सुशीला कार्कीे  कानुनअनुसार प्रधानमन्त्रीमा नियुक्त नभएको जिकिर गर्दै नेता अधिकारीले छोटो समयको लागि संसद् पुनर्स्थापना गरेर प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति पनि एक पटक प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गर्न सकिने बताउनुभयो । 


उहाँले संसद पुनर्स्थापना गरेर संविधानलाई लिगमा नलाउँदासम्म चुनाव हुने वातावरण नबन्ने दाबी गर्नुभयो । “तत्कालीन राजा ज्ञानेन्द्रले गराएको चुनाव हामीले देखेकै हो” उहाँले भन्नुभयो, “निष्पक्ष चुनाव गराउन संविधानलाई लिकमा ल्याउनुपर्दछ ।” 

पूर्वमन्त्रीसमेत रहेका अधिकारीले भ्रष्टाचारको छानबिन एमालेबाट सुरु गर्न आग्रह गर्नुभयो । “जेनजी पुस्ताले उठाएको मागप्रति नेकपा (एमाले) सकारात्मक छ”, उहाँले भन्नुभयो, “नेकपा एमालेको अध्यक्ष केपी ओलीबाट भ्रष्टाचारको छानबिन सुरु गर, गण्डकीमा मबाटै छानबिन सुरु गर, एक पैसा पनि भ्रष्टाचार गरेको प्रमाणित भए सजाय भोग्न तयार छु ।” 

गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गर्दै अधिकारीले कार्की नेतृत्वको आयोग खारेज गर्नुपर्ने बताउनुभयो । “भदौ २३ गते नै सामाजिक सञ्जालमा गौरीबहादुर कार्कीले केपी ओलीलाई सिंहदरबारबाट निकाल्नु पर्दछ भनेर लेखेका थिए” उहाँले भन्नुभयो, “आन्दोलनलाई उत्तेजित बनाउने कार्की नेतृत्वको आयोगले २ दिनका घटनाको निष्पक्ष छानबिन गर्न सक्दैन, यसलाई खारेज गरेर अर्को स्वतन्त्र आयोग बनाउनुपर्दछ ।”

कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि दबाब दिन कार्यक्रम गरिएको बताउनुभयो । पोखराको तालचोकबाट सुरु भएको र्‍याली शिशुवाचोकमा पुगेर सभामा परिणत भएको थियो ।