धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक २५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संविधानले तोकेको बाध्यात्मक व्यवस्थाअनुसार वर्तमान सरकार गठन भएको भन्दै सरकार गठनको विषयमा सर्वाेच्च अदालतले दिने निर्णय आफूलाई मान्य हुने बताउनुभएको छ ।
उहाँले अफनो मुख्यमन्त्री पदको नियुक्तिको विषयमा सर्वाेच्च अदालतले पक्षमा निर्णय नगरेको अवस्थामा आफूले निर्णय आएकै दिन सहजरूपमा सत्ता हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतको निर्णय पक्षमा नआएको खण्डमा सत्तामा बस्दिन । निर्णय आएकै दिन सहजरूपमा सत्ता हस्तान्तरण गर्छु । मुख्यमन्त्रीमा नियुक्ति भएपछि पहिलो पल्ट जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो बताउनुभयो ।
उहाँले आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्रदेशसभाप्रति पूर्ण निष्ठा पूर्वक रही काम गर्न प्रतिबद्ध रहेको भन्दै संवैधानिक निरन्तरता, शान्ति, स्थायित्व र सुशासन सुनिश्चित गर्न अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान सरकार कुनै प्रतिस्पर्धातमक आदेशका लागि हैन, संविधानले तोकेको बाध्यात्मक व्यवस्थाअनुसार गठन गरिएकोले यसलाई अन्यथा नबुझिदिन अनुरोध गर्दछु ।’ उहाँले मधेश प्रदेशमा नेकपा (एमाले) लाई मधेशी जनताले ठुलो दल बनाएको कुरा अन्य दललाई नपचेको कारण एमालेलाई अपराधिको नजरले हेर्ने गरेको भन्दै मधेश जनताले पचाएकै कारण एमाले ठुलो दल हुन पुगेको कुरा बुझन आग्रह गर्नुभयो ।
मधेश प्रदेशमा एमाले ठुलो दल भए पनि गणपुरक सङ्ख्या नपुगेका कारण विगतमा सरकारको नेतृत्वका लागि दाबी नगरेको भन्दै उहाँले अहिले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संवैधानिक बाध्यात्मक अवस्थामा गठन भएको आफु नेतृत्वको सरकारलाई सहयोग गर्न उहाँले प्रदेश सभाका सबै राजनीतिकदल र प्रदेश सभा सदस्यहरूलाई आग्रह गर्नुभयो ।