अविनाश चौधरी
धनगढी, कात्तिक २५ गते । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक ११ गते यता कैदी नौ र बन्दी चार गरी १३ जना कैदीबन्दीलाई पक्राउ गरिएको हो ।
भदौ २४ गते कारागारबाट ६६५ कैदीबन्दी कारागारबाट फरार भएका थिए । जसमध्ये धेरै फर्किसकेका छन् । यसैगरी प्रहरीले फरार २१ जना प्रतिवादीलाई पनि पक्राउ गरेको छ । चालु मुद्दाका पाँच र फैसला कार्यान्वयनका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिनुभयो ।
त्यस्तै, लागुऔषध मुद्दाका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका व्यक्तिहरूका साथबाट जम्मा ३१ ग्राम १३० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।