• ३ साउन २०८१, बिहिबार

आत्म विश्वास नै सफलता

blog

लक्ष्मी खतिवडा 

होचो कद, सानो र पातलो शरीर झट्ट हेर्दा उहाँलाई कसैले पनि हिमाल आरोही भनेर विश्वास नै गर्दैनन् । धेरै ठाउँमा उहाँले फोटो देखाएपछि मात्र मान्छेहरू अचम्म मान्छन् । यति सानो मान्छेले पनि सगरमाथा चढ्न सक्छन ? पत्यार नै मान्दैनन् । 

मुना मासिकसँग कुराकानीको क्रममा सफल हिमाल आरोही पूर्णिमा श्रेष्ठले भन्नुभयो, “हट्टाकट्टा देखिने बलियो खाइलाग्दो शरीर हुनेले मात्र सगरमाथा चढ्न सक्छन् भन्ने मान्छेहरूको बुझाइ हुने रहेछ तर होइन । हिमाल चढ्न होस् या कुनै पनि  काम गर्न शारीरिक बनावटले होइन, बलियो आत्मविश्वास र इच्छाशक्तिले मात्र सफल हुन सकिन्छ भन्ने कुराको  पूर्णिमा श्रेष्ठ उदाहरण नै हुनुहुन्छ । आफूभित्र केही गर्छु भन्ने आत्मविश्वास भए संसारमा कुनै पनि कुरा असम्भव हुँदैन ।” आठ हजार मिटर उचाइका आधा दर्जन हिमालको सफल आरोहण गरिसक्नुभएकी सगरमाथा आरोही पूर्णिमासँग धेरै सफल अनुभव छन् ।  

पेसाले उहाँ फोटो पत्रकारका रूपमा कार्यरत हुनुहुन्छ । गोर्खाको आरुघाट उहाँको स्थायी घर हो । भाइबहिनीहरू, २६ वर्षको उमेरमा उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै चर्चा हुने धेरै सफल काम गरिसक्नुभएको छ । 

मनास्लु, सगरमाथा, धवलागिरी, अन्नपूर्ण, आमदब्लमलगायतका हिमालको सफल आरोहण गरिसक्नुभएको पूर्णिमा हाल कञ्चनजङ्घा हिमालको आरोहणको क्रममा हुनुहुन्छ । 

सगरमाथा आरोही नै बन्छु भन्ने उहाँको सोच नभए पनि फोटो खिच्ने क्रममा सगरमाथा बेस क्याम्प पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले उहाँलाई धेरै नै मोहित बनायो । छ हजार 

मिटरभन्दा अग्ला हिमाल चढेपछि मात्र सगरमाथा चढ्न सजिलो हुने थाहा पाएपछि उहाँले २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो किलर माउन्टेन भनिने मनास्लु हिमालको पनि सफल आरोहण गरेर पहिलो पटक हिमाल आरोहणको कीर्तिमान राख्न सफल हुनुभयो । पूर्णिमाको यो कीर्तिमानले उहाँलाई सर्वोच्च शिखर सगरमाथातर्फको यात्रामा प्रेरित ग-यो । नभन्दै उहाँ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकारका रूपमा पनि चर्चित हुनुभयो ।

‘आधार शिविरमा पुगेर धेरै जना फर्किने गर्छन् तर मलाई त्यहाँँको फोटो खिचेर यतिकै फर्किन मन लागेन । विदेशी नागरिकको हिमाल र प्राकृतिक सौन्र्दयप्रतिको मोह देखेर मलाई पनि हिमाल चढेरै अनुभव गर्ने रहर लाग्यो । सगरमाथाको देशमा जन्मेर सगरमाथालाई छुन पाए म नेपाली छोरी भएर जन्मिएकोमा गर्व गर्न सक्छु जस्तो पनि लाग्यो । उहाँले आफ्नो जीवनका अविस्मरणीय समय सुनाउने क्रममा भन्नुभयो, “सगरमाथा चढ्नु सजिलो छैन तर असम्भव पनि छैन ।” विश्वका सुन्दर ठाउँमध्ये  हामी नेपालीका लागि त आफू जन्मेको देशको गौरव सगरमाथा हिमाल साच्चै एक गन्तव्य हो । 

६ वर्षदेखी उहँ निरन्तर विभिन्न हिमाल आरोहणकै क्रममा रहनुभएको पूर्णिमाको नेपालको महत्वपूर्ण सबै हिमालहरुको आरोहण गर्ने लक्ष्य छ । आफूलाई स्वस्थ्य र तन्दुरुस्त राख्न उहाँले हरेक दिन नियमित शारिरीक व्यायम गर्ने, साइक्लिङ गर्ने, पौडी खेल्ने,हाइकिङ जानेजस्ता अभ्यास गरिहनुभएको छ । 

पूर्णिमाले सगरमाथा अरोहणको क्रममा आफूले पत्रकारिता गर्ने क्रममा  क्यामेरामा कैद गरेका प्रकृति र जनजीवन झल्किने ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’  नामक २५ वटा फोटोको एकल प्रदर्शनी पनि गर्नुभएको थियो ।  धेरै आरोहीले उहाँको फोटोको अवलोकन गर्नुभएको थियो ।

कुनै पनि हिमाल चढ्न सजिलो छैन । सगरमाथा चढ्दा हिउँमा लामो समयसम्म बस्नुपर्दा चिसोले मेरो अनुहार ढडेर कालै भएको थियो । एक वर्षसम्म मैले कालो अनुहार लिएर हिँडे । पूर्णिमाले त्यो समय सम्झिँदै भन्नुभयो, “अनुहारमा टाटेपाटे देखेर सबैले बाटोमा हेर्थे तर मैले हार मानिन । मेरो सौन्दर्यभन्दा पनि 

मलाई मेरो सफलता नै प्यारो लाग्यो । त्यसैले जीवनमा  कहिलेकाहीँ अप्ठेरो अवस्थाको बीचमा पनि अगाडि बढेर सफल हुन सकिने उहाँको सुझाव छ ।” 

हिमाल चढनु सजिलो छैन् । जति उचाइमा पुग्दै गयो उति नै अक्सिजन कमी हुने हुनाले अप्ठेरो महसुस हुन्छ । पूर्णिमाले हरेक अप्ठेरोहरुमा मर्छु कि भन्ने डर लागिरहने पनि बताउनुभयो । यसरी । उचाईमा पुगेर सफलतापूर्ण तरिकाले फर्कन पाउदा उहाँ आफुलाई अत्यन्तै भाग्यमानी  मान्नुहुन्छ । कुनै पनि कुरामा सफल हुन परिवार, सामाजिक अवस्था, आर्थिक अवस्था, शैक्षिक अवस्था जस्ता कुराहरु बाधक बन्दैनन । आफूभित्र बलियो आत्मविश्वास र दृठ अठोट हुुनुपर्छ । सपना ठूलै देख्नुपर्छ । सपना सबैले देख्न पाइन्छ । म गाँउमा जन्मेको, मेरो परिवार कमजोर छ । पैसा छैन भनेर आफ्नो रहरहरु मार्न नहुने पूर्णिमाको सुझाव छ । भाइबहिनीहरु, सपना देखेर मात्र भएन त्यसलाई पुरा गर्न मिहनत र परिश्रम अनि आफ्नो कामप्रति अनुशासित र इमान्दार पनि हुनुपर्छ ।