धनगढी समाचारदाता
धनगढी, कात्तिक २३ गते । लहरै पक्की घर छन्, कसैका एक, कसैका दुई त कसैका तीनतले । झट्ट हेर्दा सम्पत्तिवाल बसेको जस्तो देखिने यो दृश्य धनगढी उपमहानगरपालिका–१, मिलनपुर
(पुरानो एयरपोर्ट) को हो । यहाँ पक्की घर बनाएर बसेका पैतृक सम्पत्ति भएका कुनै सम्पत्तिवाल नभई पूर्वकमैया हुन् । मुक्त कमैया भन्नेबित्तिकै नदी वा जङ्गल किनारमा टहरा एवं खरका ससाना झुप्रा बनाएर बसेका गरिब, निमुखा हुन् भन्ने भाष्य चलनचल्तीमा छ तर मिलनपुरका मुक्त कमैयाले भने यसलाई चिर्दै आफ्नो आर्थिक मात्रै नभई बस्तीकै मुहार फेरेका छन् ।
झुप्रोबाट सङ्घर्ष थालेका उनीहरू कडा परिश्रम गर्दै प्रगतिपथमा लम्केका छन् । “बस्तीको कोही पनि खाली छैन । केटाकेटी र बुढाबुढीबाहेक सबैले काम गर्ने गर्छौं,” बस्तीकी रामदुलारी चौधरीले भन्नुभयो, “आज मजदुरी गरेरै भए पनि झुपडीबाट महलमा छौँ ।”
श्रीमान् छैलुसँगै उर्मामा सानैदेखि कमैया बसेकी उहाँलाई आफ्नै लागि प्रगति गर्ने हुटहुटी थियो । कमैया जीवनबाट छुट्कारा पाए मजदुरी गरेरै भए पनि आफ्नो घर बनाउने र बालबच्चा पढाउने सपना थियो । २०५७ सालमा कमैया जीवनबाट मुक्ती पाए पनि गन्तव्य भने निश्चित थिएन । अनिश्चितताका बिच मिलनपुरमा बसेको उहाँको परिवारले मजदुरी गर्दै सङ्घर्षको पहाड छिचोल्न थाल्यो । अहिले सपना पूरा भएका छन् ।
“श्रीमान् राजमिस्त्री र म मजदुरीको काम गर्ने गर्छौं,” रामदुलारीले भन्नुभयो, “दुवै जनाको कमाइ र केही ऋण सापटी लिएर आफ्नै महल ठ¥याएका छौँ । हाम्रो सपना विपनामा परिणत भएको छ ।”
रामदुलारी र उहाँका श्रीमान् दुवै मिलेर मासिक ५० हजार रुपियाँ जति कमाउने गर्नुभएको छ । दुवैको कमाइले एक छोरीलाई इन्जिनियरिङ, छोरालाई स्नातकोत्तर र कान्छी छोरीलाई स्नातक पढाइरहनुभएको छ । कमैया मुक्तिको घोषणपछि अलपत्र जस्तै रहेका मुक्त कमैया २०६० सालमा पुरानो एयरपोर्टको जग्गामा बसेका थिए । उनीहरूलाई सरकारले नै त्यस ठाउँमा प्रतिपरिवार पाँच धुरको दरले जग्गा र त्यसको लालपुर्जा दिएको छ । जग्गाको लालपुर्जा पाएपछि मुक्त कमैयाले धमाधम पक्की घर बनाएका छन् ।
५३ परिवार रहेको सो बस्तीमा अब १५/१६ वटा घर मात्रै पक्की बन्न बाँकी रहेको जनाइएको छ । एक दुई वर्षभित्रै ती सबै कच्ची घर पनि पक्की घरमा परिणत हुने स्थानीय कैयाराम चौधरीले बताउनुभयो । उहाँले २२ वर्षको अवधिमा बस्तीमा धेरै परिवर्तन आएको उल्लेख गर्नुभयो ।
“यहाँको कोही पनि बेरोजगार छैन । कोही ठेकेदारी, कोही मजदुरी गर्छन्, कोही अटो चलाउँछन्,” चौधरीले भन्नुभयो, “बजार नजिक भएकाले कामको अभाव छैन, बरु काम गर्नका लागि जनशक्तिको अभाव छ ।”
प्रायः सबैले केही न केही काम गरेर बस्दै आएका छन् । कतिपय सरकारी जागिरमा पनि छन् । मिलनपुरका वीरेन्द्र चौधरी र सञ्जय चौधरी सरकारी जागिर गरिरहनुभएको छ । वीरेन्द्र नेपाल प्रहरीमा हुनुहुन्छ भने सञ्जयले निजामतीमा हुनुहुन्छ ।
झुपडीबाट पक्की घरमा पुगेपछि ६८ वर्षीय भागीरामको खुसीको सीमा नै छैन । आफूले कमैया जीवनमा धेरै दुःख पाएको स्मरण गर्दै उहाँले छोराले पक्की घर बनाएपछि सपना जस्तै लागेको उल्लेख गर्नुभयो । राजमिस्त्री देवीप्रसाद चौधरीलाई पनि आफ्नो दुईतले पक्की घर सपना जस्तै लाग्ने गरेको छ । आधा जिन्दगी अरूका महल बनाउँदै बिताउनुभएका उहाँ भन्नुहुन्छ, “धेरैको महल खडा गरियो । सम्पत्ति, जग्गाजमिन भए आफ्नो लागि आफैँ यस्तो घर बनाउँथे भनेर त्यो बेला सोच्ने गर्दथेँ । आज आएर आफ्नै घर बनाउन सफल भएको छु ।” श्रीमान्श्रीमती दुवै मिलेर सपना साकार पार्न सफल भएको चौधरीकोे भनाइ छ ।
कैलालीमा नौ हजार ७६२ जना मुक्त कमैयाले परिचयपत्र पाएका थिए । हालसम्म आठ हजार २२ को पुनस्र्थापना भएको छ । सट्टा भर्ना गर्नुपर्ने चार सय, परिचयपत्र बदर भएका १७३ र विशुद्ध जग्गा नपाएका ३८० गरी ९५३ मुक्त कमैयाको पुनस्र्थापना हुन बाँकी रहेको छ ।