• २३ कात्तिक २०८२, आइतबार

रुपन्देहीमा मतदाता नामावली दर्ता जारी

blog

देवदह (रुपन्देही), कात्तिक २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।

जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । यसमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन् । नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन् ।  “जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता र अद्यावधिक हो । नियमित रूपमा दैनिक ३० जना आउनुहुन्थ्यो । तर निर्वाचनको माहोलले धेरै जना दर्ता गर्न आउनुभएको देखिन्छ, उत्साह छ । अहिले दैनिक दुई सय जना हाराहारीमा नयाँ नामावली दर्ता भइरहेको छ”, उहाँले भन्नुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ नामावली दर्ता गर्नेको भीड रहेको उहाँको भनाइ छ ।

जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो । यहाँ दर्ता गर्न आउने रुपन्देही जिल्ला बाहिरका पनि छन् । “हामीले यहाँ दर्ता गरेको सबै रुपन्देहीका मात्र मतदाता हुनुहुन्छ भन्ने हुँदैन । बाहिरी जिल्लाका पनि रुपन्देहीबाट दर्ता गर्न मिल्छ । बाहिरी जिल्लाबाट रुपन्देहीको हकमा कति दर्ता गर्नुभएको छ । त्यसैगरी अद्यावधिकबाट (ठाउँसारी) गरेर कति आउनुहुन्छ, त्यसमा चाहिँ निर्भर रहन्छ”, उहाँले भन्नुभयो ।

जिल्लामा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका छ लाख ४४ हजार ३५६ मतदाता  छन् । जसमध्ये तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ जना महिला रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार २०८२ कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक (त्रुटि सच्याउने र ठाउँसारी) गर्न सकिन्छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता भइसकेको भए पुनः दर्ता गर्नुपर्दैन । रासस