हुम्ला समाचारदाता
हुम्ला, कात्तिक २३ गते । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका पहिरो र भूकम्पको उच्च जोखिममा रहेको छ । गाउँपालिकाभरिको जमिन दलदल माटो भएका कारण थोरै पानी पर्दासमेत पहिरो जाने र सानैखाले भूकम्प आउँदा पनि क्षति बेहोर्नुपर्ने देखिएको छ ।
गाउँपालिकाका पाँच वटै वडाका बस्ती पहिरो र भूकम्पबाट उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । यस क्षेत्रको माटो सिमसार भएको, अधिकांश जमिन भिरालो भएका कारण पानी पर्नेबित्तिकै पहिरो खस्ने जोखिम रहेको उहाँले जनाउनुभयो । जमिनको कारण गाउँ सभाबाट नै गाउँपालिकाका सबै बस्ती पहिरो र भूकम्पको उच्च जोखिम रहेको निर्णयसमेत पारित गरिएको छ ।
गाउँपालिका केन्द्र छप्रेलामा रहेको नयाँ सुविधासम्पन्न भवन पनि पहिरोको उच्च जोखिममा रहेको छ । भिरालो भएका कारण पूरै गाउँपालिकाको जमिन चिरा चिरा परेको बताउँदै उहाँले सबैभन्दा बढी पहिरोको जोखिम वडा नं. ४ को उत्तिस्यानी बस्तीका स्थानीयलाई भने सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो ।
यता अध्यक्ष जैसीले भूकम्पबाट पनि गाउँपालिका उत्तिकै जोखिम रहेको बताउनुभयो । सामान्य खालको भूकम्प आउँदा पनि जमिन हल्लिने र भासिने समस्या देखा पर्ने भएका कारण पनि भूकम्पको बढी जोखिम देखिएको उहाँले बताउनुभयो ।
हरेक वर्ष बर्खामा पानी पर्दा पहिरो गएर जग्गाजमिन र बालीनाली नष्ट गर्ने समस्या त ताँजाकोट गाउँपालिकावासीका लागि सामान्य जस्तै भएको वडा नं. ४ का स्थानीय तिलक शाहीले बताउनुभयो । भविष्यमा कुनै पनि वर्ष पहिरोबाट गाउँपालिकाका बस्तीले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था नआउला भन्न नसकिने बताउँदै शाहीले जोखिमका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्न माग गर्नुभयो । दुई वर्षअगाडि मात्र पहिरोले एक जनाको मृत्यु भएको थियो भने अन्नबाली र जग्गामा ठुलो क्षति पुगेको थियो । यस्तो अवस्था भएपछि बर्खामा पानी पर्दा स्थानीय सुरक्षित स्थानमा बस्नुपर्ने देखिएको छ ।