• २३ कात्तिक २०८२, आइतबार

एघार भवन प्रयोग गर्न नमिल्ने

blog

क्षति भएको कैलाली जिल्ला अदालतको कार्यालय । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, कात्तिक २३ गते । कैलालीमा ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएकामध्ये ११ भवन प्रयोग गर्न नमिल्ने ठहर गरिएको हो । 

प्रयोग गर्न नमिल्ने भवनमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले रातो स्टिकर टाँस गरेको छ । सो कार्यालयका अनुसार प्रदेश प्रमुखको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कैलाली जिल्ला अदालत, त्रिनगर भन्सार कार्यालयको भवनमा प्रयोग गर्न नमिल्ने गरी क्षति भएका छन् । यसै गरी आन्तरिक राजस्व कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयलगायतका कार्यालयको भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएकको छ । प्रयोग गर्न नमिल्ने भवनका भुइँ तलामा क्षति पुगेको, पिलर जलेको, चर्किएको, पिलर बाङ्गिएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर सन्तोष जेठाराले जानकारी दिनुभयो । 

भवन निर्माण कार्यालयले जिल्ला कारागारको कार्यालय, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, राष्ट्रिय अनुसन्धानको कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, सडक डिभिजनको कार्यालय भवनलाई आंशिक क्षतिको सूचीमा राखेको छ । यसै गरी नापी कार्यालय, मालपोत कार्याय, जनताको तटबन्ध कार्यक्रमको साइट कार्यालय, इलाका प्रशासन कार्यालय सुखडको भवनमा पनि आंशिक क्षति भएको जनाइएको छ । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कैलालीमा १३७ भवनमा आगजनी गरिएको थियो । सरकारी कार्यालयका भवन १०३, राजनीतिक दलका पार्टी कार्यालय भवन १७, सर्वसाधारणको निजी भवन १२ र प्रहरी कार्यालयको पाँच भवनमा आगजनी गरिएको थियो ।