• २१ असार २०८१, शुक्रबार

अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाण

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, साउन ७ गते । गृहमन्त्री बालकृष्ण खाणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।


गृहमन्त्री खाणले नेपालमा अपाङ्गहरुको सङ्ख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवन वृद्धिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्नुहुँदै रकम अपुग भए पनि बजेटअनुसार निर्धारण गरिएको बताउनुभयो । प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको गृहमन्त्री खाणको भनाइ छ ।


उहाँले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताउनुभयो । नेपालका आधुनिक कार्यालयहरु अझै पनि अपाङ्गमैत्री हुन नसकेको छैन । सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको पनि उहाँले बताउनुभयो ।


उहाँले सरकारले विस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको प्रष्ट पार्नुभयो । गृहमनन्त्री खाणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्ने पनि बताउनुभयो । राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहलाई उहाँले निर्देशन दिनुभयो ।


हस्तान्तरण भएका सामग्रीमा आठ वटा एम्बुलेन्स छन् । जसमा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत उच्च स्तरको एम्बुलेन्स छन् । यसमा छ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने व्यवस्था छ । यसमा सिसिटिभीको समेत जडान गरिएको छ । यी एम्बुलेन्स सबै प्रदेशमा एक–एक वटाका दरले प्रदान गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ ।

त्यस्तै विपद्पछि उद्धारका लागि आवश्यक सर्च एण्ड रेस्क्यू उपकरण पनि हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्ग कोषलाई अपाङ्गता सहायता सामग्री ह्विलचेयर, कुत्रिम हातखुट्टालगायत सामग्री हस्तान्तरण गरिएको छ ।