• १५ असार २०८१, शनिबार

चवन्न प्रतिशत रोपाइँँ

blog

काठमाडौँ, साउन १ गते । किसानले रासायनिक मल नपाए पनि धमाधम धान रोपाइँ गरिरहेका छन् । मल पाइन्छ कि भनेर किसानले केही ढिलो गरी रोपाइँ सुरु गरेका थिए । हालसम्म देशभर ५४.१३ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी सुमा कार्कीले जानकारी दिनुभयो । गतवर्ष यतिबेलासम्म ६५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । मनसुन चाँडै सुरु भए पनि मलका कारण धान रोपाइँ ढिलो भएको हो । 

रोपाइँँ ढिलो भए पनि समयमा नै रोपाइँ सकिने कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले अहिले अलिअलि भए पनि मल पाउन थालेका छन् । पानी पनि पर्याप्त परेको छ, त्यसले धान रोपाइँको काम तीव्र रूपले भइरहेको छ ।” बाढीपहिरोले केही असर गरेन भने साउन दोस्रो वा तेस्रो हप्तासम्ममा रोपाइँ सकिने उहाँले बताउनुभयो । 

अहिले गतिमा रोपाइँ भइरहे यस वर्ष शतप्रतिशत रोपाइँ हुने आफूले विश्वास लिएको उहाँले बताउनुभयो । कृषि विभागको तथ्याङ्कअनुसार गतवर्षको साउन ४ गतेसम्म ९८ प्रतिशत रोपाइँ भइसकेको थियो । 

सूचना अधिकारी कार्कीका अनुसार हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.४९ प्रतिशत रोपाइँ भइसकेको छ । बैतडीमा ९४ प्रतिशत, डडेल्धुरामा ९३ प्रतिशत, कैलाली र बझाङमा ९१ प्रतिशत रोपाइँ भएको छ भने दार्चुलामा ७८ प्रतिशत, बाजुरमा ८३, डोटीमा ७५, अछाममा ८५ र कञ्चनपुर जिल्लामा ८४ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । 

त्यस्तै सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा ३९ प्रतिशत मात्र भएको छ । मलको अभाव तथा पर्याप्त पानी नपरेका कारण रोपाइँ ढिलो सुरु भएको थियो । त्यहाँ सबैभन्दा बढी रोपाइँ सप्तरीमा ५० प्रतिशत भएको छ । सबैभन्दा कम महोत्तरीका ३० प्रतिशत मात्र रोपाइँ भएको छ । त्यहाँ चार लाख हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म एक लाख हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको विभागले जनाएको छ । 

प्रदेश १ मा ४८.६४ प्रतिशत रोपाइँ भएको छ । तीन लाख ४० हजार हेक्टरमध्ये एक लाख ६५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । सो प्रदेशमा सबैभन्दा बढी रोपाइँ तेह्रथुम जिल्लामा ७० प्रतिशत भएको छ । सबैभन्दा कम रोपाइँ सङ्खुवासभामा ३० प्रतिशत मात्र भएको छ । 

बागमती प्रदेशमा ६५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी रोपाइँँ भक्तपुरमा ९०, ललितपुर ९० र काठमाडौँमा ९३ प्रतिशत भएको छ । बागमतीमा सबैभन्दा कम रोपाइँँ रामेछापमा ५० प्रतिशत मात्र भएको विभागले जनाएको छ । बागमती प्रदेशमा एक लाख २० हजार हेक्टरमध्ये ७८ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँँ भएको छ । 

गण्डकी प्रदेशमा ६२.३२ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशको कास्कीमा सबैभन्दा बढी ८० प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत मात्र रोपाइँ भएको विभागले जनाएको छ । त्यहाँ एक लाख हेक्टरमध्ये ६२ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । 

यसैगरी लुम्बिनी प्रदेशमा ५३ प्रतिशत रोपाइँ भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी नवलपरासीमा ९० प्रतिशत रोपाइँ भइसकेको छ भने सबैभन्दा कम रोपाइँँ दाङमा २७ प्रतिशत मात्र भएको छ । लुम्बिनीको तीन लाख २० हजार हेक्टरमध्ये एक लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यहाँ जुम्ला, हुम्ला, डोल्पामा रोपाइँ सम्पन्न भइसकेको छ भने सुर्खेतमा ३० प्रतिशत मात्र रोपाइँ भएको छ ।नेपालमा कुल १५ लाख चार हजार ४८६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये आठ लाख १४ हजार ३५० हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।