• १५ फागुन २०८२, शुक्रबार

निर्वाचनमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन १५ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदानका दिन देशभरका १० हजार ५६७ मतदान स्थल र २३ हजार ५१५ मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदान गर्न आउने अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि मतदान केन्द्रमै  प्राथमिक उपचारको व्यवस्था गरिनेछ । आवश्यकता अनुसार थप उपचारका लागि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राख्न गृह मन्त्रालयमार्फत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार भइसकेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।