गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । सरकारले निर्वाचनको बिदामा समेत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि श्रम स्वीकृतिको सेवालाई निरन्तरता दिने गरी व्यवस्था गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने टिकट भएका र नगइनहुने (आपत् परेका) श्रमिकलाई निर्वाचनका दिनमा समेत श्रम स्वीकृति जारी गरिने व्यवस्था मिलाइएको हो ।
विभागका महानिर्देशक मीरा आचार्यले नेपाली जाने श्रम गन्तव्य देशमा बिदा नहुने भएकाले त्यस्ता देशमा जानै पर्ने श्रमिकका लागि विभागमा रहेको टोलीमार्फत निर्वाचनकै दिनमा श्रम स्वीकृति लिन सकिने गरी व्यवस्था गरेको जानकारी दिनुभयो । यसका लागि विभागमा एउटा टोली रहने र त्यसैले आवश्यक परेको खण्डमा जुनसुकैबेला श्रम स्वीकृति दिने व्यवस्था भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार श्रम स्वीकृति दिइने व्यवस्था मिलाउँछौँ । दसैँतिहार बिदाका बेला जस्तै विभागले भने श्रम स्वीकृतिका लागि टोली तयारी अवस्थामा राखेको जनाएको छ । विभागले देश निर्वाचनमा होमिएका बेलामा समेत दैनिक १८ पुनः श्रम स्वीकृति र पाँच सय नयाँ गरी दुई हजार तीन सय जनालाई श्रम स्वीकृति दिँदै आएको जनाएको छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको दैनिक सङ्ख्या हेर्दा चुनावले वैदेशिक रोजगारीमा जाने युवा नरोकिएको सङ्ख्याले पुष्टि गरेको महानिर्देशक आचार्यले बताउनुभयो ।