रमेश विश्वकर्मा
गुल्मी, फागुन १६ गते। नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसका वर्तमान सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविन गरेर सुशासनको सुरुवात गर्ने बताउनुभएको छ। शनिबार छत्रकोट गाउँपालिकाको चोयगामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारको आरोप लागेमा नेतालाई पार्टी सदस्यताबाट हटाउँदै कानुनी प्रक्रियालाई सघाउने स्पष्ट नीति काँग्रेसले लिने बताउनुभएको हो।
“सुशासन कायम गर्न पार्टीले कठोर निर्णय लिनैपर्छ,” उहाँले भन्नुभयो, “मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्नुपर्छ।” उपसभापति शर्माले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाउनुभयो। “नागरिकले सम्पूर्ण कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्न काँग्रेस निर्ममतापूर्वक लाग्छ,” उहाँले भन्नुभयो।
शर्माले काँग्रेसलाई भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तै लहैलहैमा लागेर विवेक गुमाउने गल्ती नदोहोर्याउन आग्रह गर्नुभयो। देशलाई सही दिशा दिन अनुभवी र संरचनागत रूपमा तयार पार्टी आवश्यक रहेको उहाँको भनाइ थियो। “सिंगो टिम, विज्ञ र योग्य व्यक्तिलाई समेटेर देश हाँक्ने क्षमता काँग्रेससँग छ,” उहाँले भन्नुभयो। पछिल्लो समय जेन्जी युवा पुस्ताले सरकार, दल, प्रशासन र विकास निर्माणमा परिवर्तन खोजेको उल्लेख गर्दै उहाँले ती आकांक्षा पूरा गर्न काँग्रेसले नेतृत्व लिनुपर्ने तर्क गर्नुभयो। “परिवर्तनको आवाजलाई सुन्ने र संस्थागत गर्ने शक्ति काँग्रेस मात्रै हो,” उहाँले भन्नुभयो।
विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्ने विशेष पहल गरिने पनि शर्माले बताउनुभयो। गैरआवासीय नेपालीको धन र मन दुवैलाई राष्ट्रनिर्माणमा जोड्ने गरी नीति बनाइने तथा बाहिर रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। “नेपालको माटो टाढा भए पनि मन टाढा हुँदैन,” उहाँले भन्नुभयो, “संसारभरिका नेपालीलाई जोड्ने प्रतिज्ञा काँग्रेसले गरेको छ।” विकास निर्माणका सन्दर्भमा शर्माले तीन सिफ्टमा काम गर्ने दृष्टिकोण अघि सार्नुभयो।
श्रमिक, ठेकेदार र इन्जिनियरबीच समन्वय गर्दै समयमै आयोजना सम्पन्न गर्ने नयाँ कार्यशैली अपनाइने उहाँले बताउनुभयो। सभामा शर्माले मतदातालाई सही मुद्दा उठाउने, क्षेत्रमै पुगेर जनतालाई भेट्ने र पूरा गर्न सकिने प्रतिवद्धता मात्रै राख्ने काँग्रेसका उम्मेदवार रोज्न आग्रह गर्नुभयो। उहाँले देश सम्हाल्ने, सुशासन स्थापित गर्ने र युवाको सपना साकार पार्ने जिम्मेवारी काँग्रेसले लिनुपर्ने भन्दै आगामी निर्वाचनमा पार्टीलाई मत दिन आग्रह गर्नुभयो।