• १३ साउन २०८१, आइतबार

अर्बको हेरोइन ढलमा नष्ट

पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

blog

काठमाडौँ, असार २४ गते ।  गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ ।

बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।

बरामद भएको लागूपदार्थ नमुना राखेर नष्ट गरिन्छ । त्यसैअनुसार उक्त लागूपदार्थ लागूऔषध नियन्त्रण ब्युरो तथा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र काठमाडौँ जिल्ला अदालतले बरामद हेरोइनको नमुना सङ्कलन गरी सुरक्षित राखेर बाँकी पानीमा घोलेर ढलमा बगाइएको हो । लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ११ मा बरामद लागूऔषध नष्ट गर्दा बढीमा तीन ग्राम अनुसन्धान गर्ने निकाय, मुद्दा हेर्ने अधिकारी र मुद्दा अनुसन्धान गर्ने निकायले सुरक्षित राखी नष्ट गर्ने व्यवस्था छ ।

पक्राउ परेका अभियुक्तलाई अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको १५ दिनभित्र स्थानीय जनप्रतिनिधि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तथा जिल्ला प्रशासन कार्यालयका अधिकारीको रोहवरमा प्रहरीले बरामद लागूऔषधको प्रकृति हेरी पर्यावरणमा असर नपर्ने गरी नष्ट गरिने गरिएको हो ।  ब्युरोका सहनिर्देशक तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बरामद भएको हेरोइन कानुनी प्रक्रिया पूरा गरी सरोकारवाला निकायको रोहवरमा नष्ट गर्ने गरिएको बताउनुभयो । 

नेपालमा बर्सेनि ठूलो परिमाणमा गाँजा, चरेस तथा अफिमको उत्पादन हुने गरेको छ । दोस्रो मुलुकबाट नेपालहुँदै अफिम कोकिनको तस्करीका घटना बढ्दै गएका छन् पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार प्रहरीले देशभरबाट ५० हजार केजी लागूऔषधसहित २७ हजार ९८५ जना कारोबारी तथा भरियालाई कानुनी दायरामा ल्याएको छ । ब्युरोका अनुसार पाँच वर्षको अवधिमा बरामद गरिएको ३९ हजार ९७४.६८३ केजी गाँजा, ११ हजार ८७५.५५९ केजी चरेस, ११० केजी १८ ग्राम हेरोइन, ५३८ केजी ९२२ ग्राम अफिम तथा २५.७५४ केजी  कोकिन नष्ट गरिएको छ ।

त्यसैगरी ब्युरोले यस अवधिमा बरामद गरेको ५०४ केजी स्युडोफेड्रिन र एम्पेटामाइनसहित १९ लाख ९८ हजर २१७ थान औषधिजन्य लागूपदार्थसमेत नष्ट गरेको छ ।  ब्युरोले हेरोइन, अफिम, चरेस कोकिनजस्ता लागूऔषध पानीमा घोलेर खोलामा बगाउने गरेको छ भने गाँजा जलाएर नष्ट गर्ने गरेको छ । त्यसैगरी औषधिजन्य लागूऔषध भने फुटाएर नष्ट गरी जलाउने गरिएको छ । 

प्रयोगकर्ता बढ्दै   

नेपालमा लागूऔषधको ओसारपसार बढेसँगै पछिल्लो समय प्रयोगकर्ताको सङ्ख्यासमेत बढ्दै गएको पाइएको छ । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार मुलुकभर एक लाख ३० हजार ४२४ जनाभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेका छन् । जसमध्ये ७६ प्रतिशतभन्दा बढी १५ देखि २९ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागूऔषधको कारोबार र प्रयोग गोप्य रूपमा हुने भएकाले लागूऔषधको प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा उल्लेख भएभन्दा बढी हुनसक्ने आशङ्का स्वयं सरकारी निकायबाटै हुने गरेको छ । विभिन्न गैरसरकारी सङ्घ, संस्थाको तथ्याङ्कअनुसार नेपालमा तीन लाखभन्दा बढी लागूऔषधका प्रयोगकर्ता रहेका छन् ।  

विदेशी मुलुकबाट नेपाल भित्रिएको ठूलो परिमाणको लागूऔषध भने नेपालमा प्रयोग नहुने गरेको प्रहरीले जनाएको छ । नेपालमा लागूऔषध प्रयोग गर्ने कोकिन चरेस, अफिम सानो सानो परिमाणमा भारतबाट नै आउने गरेको पाइएको छ । प्रयोगकर्ता र ओसारपसार बढेसँगै विभिन्न जेलमा लागूऔषधका अभियुक्त बढ्दै गएका छन् ।

कारागार व्यवस्था विभागका अनुसार हाल देशभरका कारागारमा २६ हजार ५३७ जना कैदी छन् । जसमध्ये चार हजार ७८८ जना अर्थात् १८.०५ प्रतिशत कैदी लागूऔषधसँग सम्बन्धित छन् ।