• ७ वैशाख २०८१, शुक्रबार

गाउँब्लकका बासिन्दालाई धमाधम धनीपुर्जा

blog

काठमाडौँ, असार २३ गते  । आफ्नो जग्गा भएर पनि दशकौँदेखि भूमिहीन बनेका गाउँब्लकका बासिन्दालाई सरकारले धमाधम जग्गाधनी पुर्जा वितरण गरिरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लामो समयदेखि गाउँब्लकमा रहेका तर पुर्जा पाउन नसकेका परिवारलाई पुर्जा वितरण गरेको हो । 

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले गाउँब्लकको नापजाँच निरन्तर भए पनि पुर्जा वितरण हुन नसकेको उल्लेख गर्दै अहिले धमाधम धनीपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले गाउँब्लकको जग्गा नापजाँच, दर्ता र पुर्जा वितरण गर्नुपर्ने भए पनि पुर्जा वितरण हुन नसकेकोमा यो कामलाई छिटै पूरा गर्ने गरी अगाडि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखि रोकिएको समस्या थियो । आफ्नै जमिन हुँदाहुँदै पनि भूमिहीनजस्तो भएर बस्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ ।” 

नापी विभागको कित्ता नापी महाशाखा प्रमुख सुशील डङ्गोलले चालू आर्थिक वर्ष २०७८/७९ मा गाउँब्लक नाप नक्साको लक्ष्य १५४ हेक्टर रहेकोमा निर्धारित लक्ष्यको दोब्बरभन्दा बढी ३०८.७४ हेक्टरमा नापी गरिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा मात्रै गाउँब्लकमा करिब १४ हजार ५८५ वटा पुर्जा वितरण गरिएको छ । २०४५ सालदेखि गत आर्थिक वर्ष २०७७/७८ सम्ममा करिब एक लाख सात हजार पुर्जा वितरण गरिएको थियो । गाउँब्लक, विशेष नापी र पुनः नापी गरी ४२ हजार ५८५ वटा पुर्जा वितरण गरिएको नापी विभागको तथ्याङ्क छ । 

आगामी आर्थिक वर्ष २०७९/८० भित्र गाउँब्लक जग्गाको नाप नक्साङ्कन सम्पन्न गरिने प्रवक्ता जोशीले बताउनुभयो ।  नेपालमा भूमिसुधार कार्यक्रम लागू गर्ने क्रममा भूमिमा हदबन्दी कायम गर्न र राजस्व सङ्कलन गर्ने उद्देश्यले जग्गा (नापजाँच) ऐन जारी गरी २०२१ सालदेखि एकसरो क्रमबद्ध कित्ता नापी सुरु गरिएको थियो । जग्गाको नापजाँचका क्रममा भूमिको हदबन्दीमा ताŒिवक फरक नपार्ने साना कित्ताहरू भएका बस्ती रहेका स्थानलाई ब्लकका रूपमा कायम गरी गाउँब्लक भनेर छोडिएको थियो । 

गाउँब्लकमा बसेका नागरिकले सो क्षेत्रमा आफूले भोगचलन गरिआएको जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गर्न सकेका थिएनन् । ती नागरिकले उक्त जग्गाको बेचबिखन तथा वित्तीय कारोबार पनि गर्न पाएका थिएनन् । 

इलाम, धनकुटा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, सिन्धुली, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौंँ, तनहुँ, चितवन, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके र सुर्खेत‍ ‍गरी २२ जिल्लामा यस्ता गाउँब्लक क्षेत्रको नापनक्सा गर्न बाँकी छ । 

आर्थिक वर्ष २०४५/४६ मा बाँके, सर्लाही र मोरङ जिल्लाबाट पहिलो पटक गाउँब्लक क्षेत्रको नापी सुरु गरिएको थियो । जम्मा २२ वटा जिल्लाका २५ स्थानमा गाउँब्लकको जग्गा नापजाँच नै नभएको र केही स्थानमा दर्ता तथा पुर्जा तयार गर्न बाँकी थियो । २०७७ सालमा गाउँब्लक क्षेत्रको नापजाँचसम्बन्धी निर्देशिका स्वीकृत भई लागू भएपछि गाउँब्लक क्षेत्रको जग्गा नापजाँच, जग्गा दर्ता र जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण उल्लेखनीय रूपमा भएको छ ।