जनार्जन खत्री
सर्लाही, कात्तिक २३ गते । आयोजक वडा नं. १३ पत्थरकोटलाई २–० गोलले स्तब्ध पार्दै वडा नं. ११ हीरापुरले आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
पत्थरकोटस्थित छेडा गाउँमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा वडा नं. ११ का शन्त बलले खेलको मध्यान्तरअघि गरेको दुई गोल उपाधीका लागि पर्याप्त बन्यो । मध्यान्तरपछिको खेलमा सुधारिएको प्रदर्शन गरेको वडा नं. १३ गोल गर्न चुक्दा आफ्नै मैदानमा आयोजित प्रतियोगिताको उपाधी वडा नं. ११ लाई सुम्पिन बाध्य भयो ।
वडा नं. १३ तीन पटकको वडाध्यक्ष कप बिजेता वडा नं. १६ परवानीपुरलाई टाइबे्रकरमा पराजित गरेर तथा वडा नं. ११ वडा नं. ३ जब्दीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको बिजेता वडा नं. ११ ले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।
उपबिजेतामा सिमित भएको आयोजक वडा नं. १३ ले भने ५५ हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपर्यो । यस्तै प्रतियोगितामा तेस्रो भएको वडा नं. ३ ले ३३ हजार ३३३ रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा लालबन्दी १३ का मिलन माझी वेष्ट प्लेयर, लालबन्दी ११ का दीपेश साह वेष्ट गोलकिपर, लालबन्दी ११ का विप्लव घिसिङ विष्ट डिफेन्डर, लालबन्दी ११ का सुरज लुङ्गेली वेष्ट मिडफिल्डर र टिमका लागि दुई गोल गरेर उपाधि दिलाउने वडा नं. ११ कै शन्त बल फाइनल खेलको म्यान अफ दी म्याच घोषित हुनुभएको छ । उहाँहरुलाई जनही दुई हजार रुपियाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका १३ नं. वडा कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको बिजेता, उपबिजेता, तेस्रो भएको वडा र उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यलगायत भएर पुरस्कार वितरण गर्नुभएको छ ।
यसैबिच, लालबन्दी नगरस्तरीय नवौं वडाध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं. ११ हीरापुरमा आयोजना हुने भएको छ । नगरप्रमुख वासुदेव अधिकारीले वडाध्यक्ष दीपककुमार लामालाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आगामी वर्ष नवौं वडाध्यक्ष कप आयोजना गर्ने जिम्मेवारी वडा नं. ११ लाई सुम्पिनु भएको हो ।