• २३ कात्तिक २०८२, आइतबार

मुहार फेर्दै त्रिवि रङ्गशाला

blog

काठमाडौँ, कात्तिक २३ गते । गत वर्ष नेपालमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै नजरमा प¥यो । ठुलो सङ्ख्यामा सुपर स्टार विदेशी क्रिकेटरहरूको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्नुका साथै क्रिकेटमा नेपालको ‘क्रेज’ ले गर्दा एनपिएलको पहिलो संस्करणले व्यापक चर्चा बटुलेको  थियो । यी सकारात्मक पक्षबिच पनि एनपिएल आयोजना गरिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दर्शक व्यवस्थापन हुन नसक्दा भौतिक पूर्वाधारमा केही पछाडि छौँ भन्ने देखिएको थियो ।

सरकार र नेपाल क्रिकेट सङ्घ (क्यान) को सहकार्यमा सो कमीकमजोरी एनपिएलको दोस्रो संस्करणमा हट्ने अब पक्का भएको छ । गत वर्षको एनपिएलको सफलता र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय रूपमा प्राप्त गरेको निरन्तर सफलताले त्रिवि क्रिकेट रङ्गशालाले मुहार फेर्ने अवसर पाउने भएको हो । त्रिवि रङ्गशालामा यो पटकको एनपिएल कृत्रिम प्रकाश (फ्लड लाइट्स) मा खेलाउने र दर्शकले पनि रङ्गीविरङ्गी सिटमा बसेर हेर्न पाउने अवसर प्राप्त हुँदै छ । त्रिवि रङ्गशालाको योजना अनुसार काम पूर्ण भइसकेको छ । फ्लड लाइट्सका केही काम मात्र बाँकी रहेको क्यानले जनाएको छ । 

सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको एक महिना भयो । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका लागि करिब १० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसअघि नै सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिमा विशेष पहल सुरु गरिसकेको थियो ।

खेलकुदमन्त्री बब्लु गुप्ताले क्रिकेट मैदानको पुनर्निर्माणले नेपाली क्रिकेटरहरूको मनोबल उच्च बनेको धारणा राख्दै क्रिकेट मैदानलाई थप उत्कृष्ट बनाउन क्यानसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएपछि अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमा समेत यसको योगदान हुने छ भन्नुभएको थियो ।

हाल त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरणका संरचना लगभग पूरा भइसकेको छ । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपालको एनपिएल दोस्रो संस्करणका लागि त्रिवि रङ्गशाला तयार गर्ने लक्ष्य अनुरूप काम भएको हो । मन्त्री घिसिङले गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्गशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने पनि बताउनुभएको छ ।

पछिल्लो एनपिएलमा त्रिवि रङ्गशाला वरिपरि दर्शकले घाँसमै बसेर, रुखमा चढेर खेल हेरेका थिए । फ्लड लाइट्स जडान गरिएको थिएन । अहिले यी समस्या हटेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्नुहुन्छ, “त्रिवि मैदान नेपाली क्रिकेटको घर हो । अहिले यो अत्याधुनिकतातर्फ अग्रसर छ । यसका लागि पछिल्लो सरकारले काम ग¥यो । अहिले नयाँ सरकारले पनि प्राथमिकतामा राखेर निरन्तरता दिएको छ, त्यसैले हामी हर्षित छौँ । राजनीतिक परिवर्तन भए पनि क्रिकेट सबैको प्राथमिकतामा छ । त्यसैले पनि समयमै सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बन्नेमा शङ्का छैन । उहाँले तेस्रो चरणमा पुनर्निर्माणको काम सम्पन्न भएपछि यो विश्वकै उदाहरणीय क्रिकेट रङ्गशाला हुने र यसबिच क्यानले पनि अस्थायी रूपमा रङ्गशालामा विभिन्न सुविधा थप्ने बताउनुभयो ।

अध्यक्ष चन्दका अनुसार क्रिकेटका लागि पूर्वाधार पुगेको भने छैन । “नेपालमा ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न कम्तीमा चार वटा ठुला रङ्गशाला चाहिन्छन् । भर्खरै १६ वटा टिम सहभागी हुने यु १९ एसिसी प्रिमियर कप आयोजना गर्न भनेको थियो तर पर्याप्त क्रिकेट रङ्गशाला नहुँदा सो आयोजना गर्न सकिएन,” अध्यक्ष चन्दले बताउनुभयो । 

एनपिएललाई भव्य बनाउन अहिले क्यान, सहभागी टिम, दर्शक सबै पक्ष तयार छन् । क्यानले नौ दिन बाँकी रहँदासम्म पनि खेल तालिका निकाल्न नसकेपछि नेपालमै पहिलो पटक फ्लड लाइट्मा खेल हुन्छ कि हुँदैन भन्ने मात्र सबैको चासो बनको छ । क्यानका सचिव पारस खड्का तीन/चार दिनमा फ्लड लाइट्स पनि तयार हुने र सबै पक्ष कृत्रिम प्रकाशमै यो खेल हुन्छ भन्ने लक्ष्यसहित अगाडि बढिरहेको छ भन्नुहुन्छ । उहाँका अनुसार नेपाल तेस्रो पटक टी–२० विश्वकपमा पुगेको उत्साहले एनपिएललाई अझ फाइदा पुग्ने छ । नेपाल यही महिना ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेर सन् २०२६ मा हुने विश्वकपमा पनि चयन भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले त्रिवि क्रिकेट रङ्गशाला ड्रिम प्रोजेक्ट हो भन्दै फ्लड लाइट्सका बत्ती आउन अलि ढिला भएको हो भन्नुभयो । “प्राविधिक समस्या भएर फ्लड लाइट्स भएन भने पनि एनपिएल तोकिएकै मितिमा हुन्छ,” उहाँले भन्नुभयो ।