• २६ माघ २०८२, सोमबार

आइसिसी टी–ट्वान्टी विश्वकप

जितको नजिक पुगेर निराश

blog

काठमाडौँ, माघ २६ गते । इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव अहिले नेपाली क्रिकेट टिम र समर्थकले गरिरहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । पछिल्ला ११ मध्ये १० टी–२० खेल जितेकाले इङ्ग्ल्यान्डलाई उपाधि दाबेदारका रूपमा लिइएको थियो ।

नेपाली समर्थकले भरिभराउ भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा नेपाल टी–२० विश्वकपमा अहिलेसम्मकै स्तब्धकारी नतिजा निकाल्न अन्तिम बलमा एक ठुलो ‘हिट’ मात्र जरुरी थियो । सो समय १९ बलमा ३८ रन बनाएका लोकेश बम स्ट्राइकमा पनि थिए तर सामकरनले फालेको ‘लो फुल टस’ बलमा लोकेशले एक रन मात्र जोड्न सक्नुभयो र इङ्ग्ल्यान्डलाई पहिलो भेटमै हराएर इतिहास बनाउनबाट नेपाल चुक्यो । नेपालले अन्तिम नौ बलमा मात्र १३ रन बनाउन सकेन । अन्तिम ओभरमा करनले मात्र पाँच रन दिएर इङ्ग्ल्यान्डको इज्जत जोगाउनुभयो । 

नेपालले टी–२० विश्वकपमा हृदयविदारक क्षणको सामना गरेको यो दोस्रो पटक हो । इङ्ग्ल्यान्डविरुद्ध जितेको भए सन् २०२४ मा दक्षिण अफ्रिकासँग एक रनले हारेको घाउमा मलम लाग्ने थियो । दुई वर्षअघि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा पनि नेपालपछि उपविजेता बनेको दक्षिण अफ्रिकासँग दुई बलमा दुई रन बनाउन नसक्दा निराश बनेको थियो ।

यद्यपि हारपछि पनि नेपालले यस विश्वकपमा सानदार सुरुवात गरेको छ । कुशल भुर्तेलले पावर प्ले गरेको सानदार ब्याटिङ, कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबिच पालिको मध्यभागमा भएको साझेदारी र लोकेशले डेथ ओभरमा गरेको विस्फोटक ब्याटिङ हुँदाहुँदै नेपाल अन्तिम क्षणमा चुकेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८४ रनको बलियो स्कोर तयार पारेको थियो । नेपालले जवाफमा छ विकेटको क्षतिमा १८० रन मात्र बनायो ।

इङ्ग्ल्यान्डको यो स्कोर पछ्याउन नेपाललाई कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो सुरुवातको आवश्यकता थियो । आसिफ सात रनमै आउट हुनुभयो तर भुर्तेलले अपेक्षा अनुरूप नेपाललाई राम्रो सुरुवात दिलाउनुभयो । उहाँले तेज बलिङमा ठुलो नाम बनाएका जोफ्रा आर्चरलाई पनि सम्मान दिनुभएन । भुर्तेलले आर्चरको पहिलो ओभरमै १६ रन बटुल्नुभयो । त्यसपछि भुर्तेलले  दोस्रो ओभरमा अर्का तेज बलर ल्युक वुडको ओभरमा पनि एक छक्का र एक चौका प्रहार गर्नुभएको थियो । भुर्तेल १७ बलमा चार चौका र एक छक्कासहित २९ रन बनाएपछि स्पिनर विल ज्याक्सको बलिङमा आउट हुनुभयो ।

स्पिन आक्रमणपछि नेपालको पालिमा केही ब्रेक लागेको थियो तर चाँडै नै रोहित र दीपेन्द्रले पालि समाल्दै तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरी नेपालको पालि उकास्नुभयो । १० ओभर सकिँदा नेपालले दुई विकेटको क्षतिमा ८५ रन बनाएर खेललाई नियन्त्रणमा राखेको थियो । यी दुईलाई इङ्ग्ल्यान्डका प्रमुख स्पिनर आदिल रसिदले पनि रोक्न सक्नुभएन ।

करनको स्लो बलमा दीपेन्द्रले ठुलो सट प्रहार गरेर अर्धशतक पूरा गर्न खोज्दा सो साझेदारी टुट्यो । दीपेन्द्रले २९ बलमा ४४ रन बनाउनुभयो । उहाँको पालिमा छ चौका र एक छक्का सामेल थियो । त्यसपछि अर्को ओभरमा रोहित ३९ रनमा आउट भएपछि नेपाललाई खेलमा फर्किन कठिन हुने अनुमान गरिएको थियो तर लोकेशले २० बलमा चार चौका र दुई छक्कासहित अविजित ३९ रन बनाएर खेलको रोमाञ्चक अन्तिम समयसम्म कायम राख्नुभयो ।

इङ्ग्ल्यान्डका प्रमुख तेज बलर आर्चरले चार ओभरमा ४० रन र आदिलले तीन ओभरमै ४२ रन खर्चनुभयो । इङ्ग्ल्यान्डका लागि लियाम डसनले दुई तथा वुड, आर्चर, ज्याक्स र करनले एक–एक विकेट लिनुभयो । 

यसअघि नेपालका स्पिनर शेर मल्लले विश्वकपमा आफ्नो पदार्पण खेलेको पहिलो बलमै फिल साल्टलाई एक रनमा आउट गर्नुभएको थियो । मल्लअघि टी–२० विश्वकपमा आफ्नो पदार्पण खेलको पहिलो ओभरमै फिडेल एडवार्ड्स, प्रज्ञान ओझा, पारस खडेका, नदिम अहमद र खुराम खान पनि हुनुहुन्छ ।

इङ्ग्ल्यान्डका लागि ज्याकब बेथल (५५ रन) र कप्तान ह्यारी बु्रक (५३ रन) ले तेज अर्धशतक बनाउनुभयो तर नेपाललाई ठुलो चोट भने ज्याक्सले पालिको अन्त्यतिर विस्फोटक ब्याटिङ गरेर पु¥याउनुभएको थियो । ज्याक्सले १८ बलमा एक चौका र चार छक्कासहित अविजित ३९ रन बनाउनुभयो । ज्याक्सले करण केसीले फालेको अन्तिम ओभरमा तीन छक्का प्रहार गर्नुभएको थियो । आजको खेलमा अलराउन्ड प्रदर्शन गर्ने ज्याक्स नै प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।

नेपालका लागि दीपेन्द्र र नन्दन यादवले दुई–दुई तथा मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिनुभयो । समूह ‘सी’ मा रहेको नेपालले दोस्रो खेलमा बिहीबार इटालीको सामना गर्ने छ । इटाली पहिलो पटक विश्वकपमा खेल्दै छ ।