• १३ साउन २०८१, आइतबार

गैरआवासीय नेपालीका मागप्रति सरकार सकारात्मक

blog

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसाथ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग शनिबार भएको भेटवार्तामा उहाँले गैरआवासीय नेपालीका जायज मागप्रति सरकार सधैँ सरकार सकारात्मक रहेको बताउनुभएको हो । 

विभिन्न माग राखेर सङ्घका पदाधिकारीले प्रधानमन्त्री देउवासँग शनिबार बालुवाटारमा भेट गर्नुभएको थियो । टोलीमा सहभागी सङ्घका उपाध्यक्ष नरेन्द्र भाटका अनुसार प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताका माग पूरा गर्ने कुरामा राजनीतिक दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।

उपाध्यक्ष भाटले भन्नुभयो, “उहाँ (प्रधानमन्त्री)ले हाम्रा मागबारे आफू सधैँ सकारात्मक रहेको र अन्य राजनीतिक दलहरूबीच छलफल तथा सहमति गरेर माग पूरा गर्ने कुरा गर्नुभयो । त्यसका लागि सङ्घले अन्य राजनीतिक दलका नेतृत्वलाई पनि हाम्रा मागबारे जानकारी गराउने भएका छौँ ।”

भेटघाटक्रममा सङ्घका पदाधिकारीले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था, लगानीको सहज व्यवस्था, वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीको सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग राखेको छ । राजनीतिक र सरकारी सेवामा जागिर खानेबाहेकका अरू अधिकारसहितको गैरआवासीय नेपालीलाई दिनुपर्ने माग लामो समयदेखि सङ्घले राख्दै आएको जानकारी गराउनुभएको थियो ।

 गैरआवासीय नेपालीले दुई करोड रुपियाँभन्दा माथि मात्र लगानी गर्न पाइने हालको व्यवस्था संशोधन गरी त्योभन्दा सानो रकम पनि लगानी गर्न पाउने व्यवस्था गर्दा नेपालमा लगानी भित्रिने र त्यसले मुलुकको आर्थिक विकासमा थप टेवा पु-याउने धारणा सङ्घको रहँदै आएको छ । 

विशेषगरी खाडी मुलुकमा बीसौँ वर्ष काम गरेर रेमिट्यान्स पठाउँदै बुढेसकालमा स्वदेश फर्केका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित नभएको भन्दै युवा अवस्थामा योगदान पु-याउने नेपालीको कदर गर्नेखालको तत्काल कार्यक्रम ल्याउन सङ्घले प्रधानमन्त्री देउवासँग माग राखेको छ । 

त्यसैगरी विदेशमा बस्ने नेपालीको मताधिकार, म्यानमार र थाइल्यान्डमा रहेका नेपालीको पहिचानको समस्या समाधान गर्न कम्तीमा गैरआवासीय नेपाली परिचयपत्रसम्म दिने व्यवस्था मिलाइदिन सङ्घका पदाधिकारीले प्रधानमन्त्री देउवासँग अनुरोध गरेका थिए । 

उपाध्यक्ष भाटका अनुसार हाल नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले भिजिट भिसामा आउने गरेकाले त्यस्ता विद्यार्थीलाई अध्ययनको भिसा दिने व्यवस्था गर्न सके नेपालमा पढ्न आउन विदेशीको सङ्ख्या बढ्नेतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिमण्डलमा सङ्घका अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी उपाध्यक्षद्वय नरेन्द्र भाट र दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्लेलगायतका पदाधिकारी हुनुहुन्थ्यो ।