• १३ असोज २०८२, सोमबार

राइनासमा युवकको हत्या

blog

घटनास्थलको अनुसन्धान गर्दै कुकुरसहित प्रहरी टोली । तस्बिरः लमजुङ प्रहरी

नवीनराज कुइँकेल

लमजुङ, असोज १३ गते । लमजुङको राइनास नगरपालिका –४, सातबिसेमा एक युवकको हत्या भएको छ । आफ्नै साथीले हत्या गरेको प्रहरीले जनाएको छ । निर्माणाधीन राइनास नगर अस्पतालका सुरक्षा गार्ड अन्दाजी २२ वर्षीय विशाल दाहालको आफ्नै साथीबाट हत्या भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहराका अनुसार दाहाल आफैं सुत्ने कोठामा आइतबार मृत भेटिएपछि प्रहरी चौकी तीनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो । 

उहाँका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका –१० घर भएका दाहालको टाउकामा पछाडि चोट देखिएको र घोप्टो अवस्थामा रहेको, ढोका बन्द र झ्याल खुला अवस्थामा रहेको देखिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयमार्फत तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाहालसँगै हिँडडुल गरिरहने राइनास –३ का ३० वर्षीय सागर परियारको ढुंगा प्रहारबाट दाहालको मृत्यु भएको खुल्न आएको डिएसपि बोहराले बताउनुभयो । उहाँका अनुसार खोजतलासका क्रममा परियारलाई साथीसँगै बस्दैगरेको अवस्थामा सोमबार बिहान ४ बजेतिर बेंसीसहरबाट पक्राउ गरिएको छ ।

डिएसपी बोहराका अनुसार घटनाका दिन शनिबार बेलुकी छिमेकीको पसलमा रक्सी सेवन गरेर साथमा रक्सी र मासु लिएर दाहालको कोठामा गएको र दुवैजनाले विहान ३–४ बजेसम्म रक्सी खाँदैगर्दा विवाद बढेको खुलेको छ । विवादका क्रममा परियारले दाहाललाई ढुंगा प्रहार गरेको सोधपुछका क्रममा बयान दिएका थिए । 

“पक्राउपछि सोधपुछका क्रममा दुबैजना बसेर रक्सी खाँदै गरेको र आपसमा विवाद हुँदा नजिकै रहेको ढुंगा प्रहारबाट दाहालको मृत्यु भएको परियारले स्वीकारेका छन्” डिएसपी बोहराले भन्नुभयो ।

अभियुक्त परियार सदरमुकाम बेसीशहरमा एक साथीकोमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आफन्त, जनप्रतिनिधि र स्थानीयको रोहवरमा शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल, लमजुङ पठाएको छ । पक्राउ परेका परियारलाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।