अमरराज नहर्की
तनहुँ, असोज १३ गते । तनहुँ कारागारमा अझै १४० जना कैदबन्दी फरार सूचीमा रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा भय र असुरक्षा फैलिएको छ । चोरी, लुटपाट, तथा हिंसाको त्रास रहेको स्थानीयको भनाइ छ ।
प्रहरीले हालसम्म १८७ कैदीबन्दी नियन्त्रणमा ल्याइसकेको भए पनि बाँकी फरारहरूले समाजमा अनिश्चित्ता बढाएका छन् । कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८७ कैदीबन्दी मात्र पक्राउ परेका छन् । बाँकी फरार रहेको जेलर टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यालयले फरार कैदीबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म कारागार कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल, तनहुँले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, “निर्धारित मितिसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानून बमोजिम कडा कारबाही हुनेछ ।” साथै, फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
कारागार प्रशासकले फरार कैदीहरूको अवस्थाबारे जानकारी हुने परिवार, समुदाय, नागरिक समाज, पत्रकार तथा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै “जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने” उल्लेख गरेका छन् ।
फरार कैदीबन्दीबारे जानकारी भएमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल मनकामना गण नं. २३ भानु तथा कारागार कार्यालय तनहुँका सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसका लागि कारागारले सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६००११११, जिल्ला प्रहरी कार्यालय तनहुँलाई र कारागार प्रशासकलाई ९८५६०८४७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।