• १० मंसिर २०८१, सोमबार

दैलेखमा ब्लड बैंक सञ्चालन

blog

बिशाल सुनार

दुल्लु, कात्तिक ९ गते । आकस्मिक बिरामीहरुलाई रगत दिनुपर्ने अवस्थामा रक्तदाताबाट झिकेर रगत दिनुपर्ने र तत्कालै सञ्चार गराउने गरिएकोमा अब रक्त सञ्चार केन्द्रमार्फत रक्त सञ्चार गरिने भएको छ । दैलेखमा समस्यामा परेका बिरामीका आफन्तीहरुलाई अब रगत खोज्दै हिँड्नुपर्ने समस्याको समाधान भएको छ ।

जिल्ला अस्पताल हाताभित्र सञ्चालनमा ल्याइएको रगत बैंकमार्फत शुद्ध र सुरक्षित रगत बिरामीलाई दिन सकिने गरी नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो ।

आवश्यक सामग्री र उपकरण प्रबन्ध गरी स्तरवृद्धिसहित सञ्चालनमा ल्याइएको रक्त सञ्चार केन्द्रको रिबन काटेर जिल्ला समन्वय प्रमुख नवराज शाहीले गर्नुभएको हो ।

जिल्ला अस्पताल दैलेखमा २१ वर्षअघिदेखि सुरु भएको आपत्कालीन रक्त सञ्चार गरिंँदै आएको थियो । “आवश्यक उपकरणको अभावमा सङ्कलन र भण्डारण गर्न सकिएको थिएन, अब सकिने भएको छ, समस्यामा परेकाहरुले रगत खोज्दै भौंतारिनु पर्दैन,” नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निरन्जन खत्रीले भन्नुभयो । आवश्यक सामग्री र उपकरण प्रबन्ध गरी रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ । 

रक्त सञ्चार केन्द्र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका उपसभापति यामबहादुर कटुवालको संयोजकत्वमा १३ सदस्यीय रक्त सञ्चार केन्द्र समिति गठन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका डा. सुदीप खड्का, दीपक कार्की, टकबहादुर भण्डारी, रञ्जिता गिरी खड्का, नैना गुरुङ्, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालालाई सदस्यमा मनोनीत गरिएको छ ।

जिल्लामा सर्वाधिक रक्तदान गरिसक्नुभएका स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष अमर सुनार भन्नुहुन्छ “निक्कै खुशीको कुरा हो तर सञ्चालन मात्र नभएर व्यवस्थापनमा पनि सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।