• २८ मङ्सिर २०८२, आइतबार

सङ्घीयता जोगाउँदै मधेश समृद्ध बनाउने कांग्रेस नेतृत्वको सरकारको प्रतिबद्धता

blog

मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २८ गते ।
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सङ्घीयताको उद्गमस्थलका रूपमा चिनिने मधेशमा कांग्रेस नेतृत्वको सरकार सङ्घीयता जोगाउने र प्रदेशलाई समृद्ध बनाउने दिशामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

देशमा पछिल्लो समय देखिएको संवैधानिक सङ्कट र सङ्घीयता कमजोर बनाउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले मधेशलाई सबल बनाएर मात्र सङ्घीयतालाई संस्थागत गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मधेश प्रदेश सङ्घीयताको केन्द्रबिन्दु भएकाले यहाँको राजनीतिक स्थायित्व र सुशासनले नै सङ्घीय व्यवस्थाको भविष्य निर्धारण गर्नेछ ।’’

मुख्यमन्त्री यादवले विगतमा उपेक्षित रहँदै आएको मधेशका जनताका लागि सङ्घीयता विकल्प नभई अपरिहार्य आवश्यकता भएको उल्लेख गर्नुभयो । सङ्घीयताको मर्मअनुसार व्यवहार हुन नसक्दा प्रदेशप्रति जनअसन्तुष्टि बढ्दै गएको स्वीकार गर्दै उहाँले अब भाषणभन्दा कामबाट परिणाम देखाउने समय आएको बताउनुभयो ।

सङ्घीयताको विरोध केन्द्रीकृत शासन अभ्यासमा अभ्यस्त शक्तिहरूबाट भइरहेको बुझाइ प्रस्तुत गर्दै मुख्यमन्त्री यादवले सङ्घीयता सफल कार्यान्वयनमा प्रदेश सरकारहरूको पनि कमजोरी रहेको स्वीकार गर्नुभयो । प्रदेश स्थापनाको आठ वर्षपछि पहिलोपटक कांग्रेसले नेतृत्व पाएकाले अपेक्षा र जिम्मेवारी दुबै बढेको उल्लेख गर्दै उहाँले कांग्रेसलाई गल्ती गर्ने छुट नरहेको स्पष्ट पार्नुभयो ।

सातदलीय गठबन्धनको समर्थनमा बनेको वर्तमान सरकार स्थिर रहनेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री यादवको भनाइ छ । मधेशलाई समृद्ध, शान्त र सुखी बनाउन चाहने सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको बताउँदै उहाँले जनताले प्रत्यक्ष अनुभूति गर्ने काममार्फत विगतमा बनेको प्रदेश सरकारप्रतिको नकारात्मक धारणा चिर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यसैबिच सरकारका प्राथमिकताबारे जानकारी दिँदै मुख्यमन्त्री यादवले सुशासन, कृषि र शिक्षालाई मुख्य आधार बनाइएको बताउनुभयो । प्रदेशको करिब ९० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेकाले कृषिमा लगानी बढाएर आम्दानी वृद्धि गर्ने योजना अघि बढाइने उहाँको भनाइ छ । ‘फिड द नेसन’ कार्यक्रमलाई निरन्तरता दिँदै मधेशको अन्नबाट देशलाई आत्मनिर्भर बनाउने लक्ष्य वर्तमान सरकारले लिइएको उहाँले जनाउनुभयो ।

यस्तै शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको सुदृढीकरण, आवश्यक जनशक्ति र स्रोतसाधनको विस्तार तथा दातृ निकायको सहयोगमा मधेशलाई ‘एजुकेसन हब’ को रुपमा विकास गर्ने योजना समेत रहेको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

यसैबीच मुख्यमन्त्री यादवले पदभार ग्रहणपछि प्रदेश सभाबाट विश्वासको मत र मन्त्रीमण्डल विस्तारबारे यस्तो भन्नुभयो, “राजनीतिक दलहरूसँग छलफल जारी छ, चाँडै मन्त्रीमण्डलले पूर्णता पाउनेछ । विश्वासको मत लिने कार्यक्रम भने एमाले महाधिवेशनपछि नै हुनेछ ।”