• २८ मङ्सिर २०८२, आइतबार

बद्रिगाउँका कृषक तरकारी खेतीमा आत्मनिर्भर

blog

तरकारी खेतीले आत्मा निर्भर भएको कालीकोटको बद्रिगाउँ । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 
कालीकोट, मङ्सिर २८ गते ।
कालीकोटको दुर्गम बस्तीमध्ये एक बद्रिगाउँ अहिले तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । पहाडी भू–भागको अति कडा भौगोलिक चुनौतीबिच बद्रिगाउँका किसानले व्यवसायिक तरकारी खेतीलाई आय–आर्जनको प्रमुख स्रोत बनाएका छन् ।

परम्परागत बालीभन्दा वर्षेनी राम्रो आय सुनिश्चित हुने भएपछि गाउँका सबै परिवार तरकारी खेतीमै निर्भर छन् । २०५६ सालमा गाउँका तीनदेखि पाँच जनाले सुरु गरेको तरकारी खेती बढ्दै जादा २०५८/०६० सम्म पूरै गाउँ तरकारी खेतीमा सक्रिय भइको छ । खाँडाचक्र नगरपालिका–४ मा पर्ने बद्रिगाउँमा १३५ घरधुरी छन् । ३४ घर परिवारले गाउँ छोडेको छ भने १०१ घरपरिवार अहिले पनि गाउँमै बस्छन् । यि सबै घरपरिवार तरकारी खेतीमा सक्रिय छन् ।

वडा अध्यक्ष प्रभानन्द आचार्यका अनुसार बद्रिगाउँका नागरिकका सदरमुकाम मान्ममा मात्र ६० जनाका घर छन् । मान्ममा घर भएका सबैको सुर्खेत, बाँके, बर्दिया, कैलाली र काठमाडौँमा पनि घर जग्गा छ । यहाँका नागरिकको यो प्रगती भनेको आलु, बन्दागोबी, काँक्रो, मुला, गोलभेँडालगायत मौसमी तथा पछिल्लो समयमा बेमौसी तरकारी बाली नै प्रमुख आधार हो । वडा अध्यक्ष आचार्यले भन्नुभयो, ‘‘हाम्रो ब्याजभन्दा अगाडिका खासै पढेका छैनन् । सामान्य साक्षर छन् । परम्परागत कृषि खेतीबाट तरकारी खेतीमा जुटेपछि शहरमा घर जग्गा बनाउन सुरु भयो ।’’

अहिले सात जनाका घर काठमाडौँ छन् भने सदरमुकाम मान्ममा भएका ६० घर परिवारका सुर्खेत, बदिया र कैलालीमा पनि घर घरेडी छन् । बाँकी घर परिवारका बद्रिगाउँसँगै कसैका सुर्खेत र कसैका बर्दिया कैलालीमा घर छन् । यहाँका नागरिक तराई र शहरमा घर नभएको कुनै बाँकी छैन आचार्यले निकै खुसी हुँदै भन्नुभयो ।

आर्थिक उन्नतिले गाउँको स्वरूप पनि बदलिन थालेको छ । केही वर्षयता निरन्तर आम्दानी बढेसँगै अधिकांस किसानले तराई क्षेत्रमा घर–जग्गाको अलबा यात्रु तथा मालवहाक गाडी किनिसकेको आचार्यको भनाइ छ ।

स्थानीय तहले पनि बद्रिगाउँलाई ‘उद्यमशील कृषि क्षेत्रको रूपमा अगाडि बढाएको छ । सिँचाइ, बीउ–बिजन, मलखाद र कृषि प्रविधिको पहुँच विस्तारमा सहयोग गर्दा उत्पादन अझै बढेको कृषि प्राविधिकहरूको भनाइ छ । कडा भौगोलिक बनावटका बिच बद्रिगाउँका किसानले देखाएको परिश्रम, सीप र लगनशीलताले अहिले यो गाउँलाई कालीकोटमै आर्थिक रूपान्तरणको सफल नमूना बनाइदिएको छ । सुरुमा विद्यालय पढ्न खासै चासो नराख्ने यहाँका नागरिक अहिले सरकार सेवाका विभिन्न तहमा पुग्न सफल भएका छन् ।

कालीकोट जिल्लाकै साहयक प्रमुख जिल्ला अधिकारी जनक शर्मादेखि निजामती, शिक्षक र सेना प्रहरीमा यहाँका युवाले स्थान ओगड्दै छन् । गाउँमा आरसिसि सडक पनि अहिले पुगेको छ ।