राजन रावत
हुम्ला, मङ्सिर २७ गते । सिमकोट विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ ।
सो कार्यका लागि आवश्यक बजेटको व्यवस्था यसै आर्थिक वर्षमा गरिएको भए पनि नेपाल सरकारबाट आउन पर्ने बजेट नेपाल नागरिक उड्डयन प्राधिकरणमा निकासा आई नपुगेको कारण सो कार्य रोकिएको हो ।
जिल्लाबाट जग्गा अधिग्रहणका लागि जग्गा धनीको नाम सार्वजनिक सूचना निकाल्ने तयारी गरी रहेको बेला नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय काठमाडौँले विमानस्थल विस्तारको काम अगाडि हाललाई नबढाउन निर्देशन दिए अनुसार सो कार्य रोकिएको जग्गा खरिद समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनु भयो ।
बजेटको व्यवस्था गरी अख्तियारी नेपाल नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखालाई आई सकेको थियो ।
विमानस्थलको धावनमार्ग विस्तार कार्य र जग्गा अधिग्रहण कार्यका लागि प्राधिकरणले गत साउन ३० गते आवश्यक बजेट २७ करोड ९४ लाख रुपियाँ विनियोजित गरी कार्य अघि बढाउन आदेश दिएको थियो ।
कुल विनियोजित बजेट मध्य बीस करोड प्राधिकरणले लागत ब्यहोर्ने र सात करोड ९४ लाख रुपियाँ नेपाल सरकारले व्यवस्था गरेको थियो ।
सरकारबाट आउनु पर्ने बजेट प्राधिकरणमा हालसम्म आई नपुगेको कारण हाललाई कार्य रोकिएको उहाँले बताउनुभयो । प्राधिकरणको सिमकोट शाखाले जग्गा खरिद कार्य अन्तिम चरणमा पुर्याएर सूचना प्रकाशन गर्ने अवस्थामा पुगेको थियो ।
विमान स्थल विस्तारका लागि साठी दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्ने जग्गाको नापजाँच र कित्ता यकिन गर्ने कार्य पूरा भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।
विमान स्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको मूल्य जिल्ला दररेट अनुसार प्रतिवर्ग मिटर छ हजार दुई सय रुपियाँ रहेको छ । सो क्षेत्र भित्र नौ वटा भवन समेत अधिग्रहण हुने छन ।
यसअघि जिल्लाले जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पूरा गरी सकेको थियो । यो काम सम्पन्न भए हाल विमान स्थलको लम्बामा तीन सय मिटर वृद्धि हुने छ । पर्यटकीय सिजनमा उडानको चाप पनि व्यवस्था हुने छ । हाल सिमकोट विमान स्थलको लम्बाइ घेराबार सहित सात सय मिटर लम्बाइ रहेको छ भने रन वे साँढे छ सय मिटर लम्बाइ रहेको छ ।
अब विस्तारपछि विमान स्थलको लम्बाइ घेराबार सहित एक हजार दस मिटर लम्बाइ रहने छ भने साँढे नौ सय मिटर लम्बाइ रन वेको हुने छ ।
विमान स्थलको विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य राखिएको छ । हाल चौधदेखि अठार सिटे साना जहाज विमान स्थलमा अवतरण गर्दै आएका छन ।
कैलाश मानसरोवर दर्शनको मुख्य प्रवेश विन्दुका रूपमा रहेको सिमकोट विमान स्थलसहित सम्पूर्ण हुम्लाको पर्यटन प्रवर्धन सहयोग पुग्ने विश्वास गरिएको छ ।