चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), मङ्सिर २८ गते । रौतहट र सर्लाही जोड्ने पुल निर्माणका लागि रौतहटका जेनजी अगुवा विक्रम यादवले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराउनु भएको हो ।
समयमै पुल निर्माण नहुँदा रौतहट र सर्लाहीका बासिन्दा सास्ती बेहोर्न बाध्य भएको बताउनु हुँदै जेनजी अगुवा यादवले तत्काल पुल निर्माण कार्य सम्पन्न गराउन माग गर्नु भएको छ । रौतहट र सर्लाहीका कुनै नेता समयमा पुल निर्माण गराउन गम्भीर नरहेको दुःखेसो पोख्नु हुँदै जेनजी अगुवा यादवले अहिलेको सरकार यो समस्याप्रति संवेदनशील हुनु पर्ने बताउनु भयो ।
रौतहट र सर्लाही जिल्ला जोड्नका लागि बागमती नदीमा दुई वटा पुल तोकिएको समयमा निर्माण नभई अलपत्र हुँदा यात्रु बर्सौंदेखि जोखिमपूर्ण एवं कष्टकर यात्रा गर्न बाध्य भएपछि जेनजी अगुवा यादवको आग्रहमा मन्त्री घिसिङले शुक्रबार साँझ दुवै पुलको निरीक्षण गर्नु भएको छ ।
मन्त्री घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिको बारेमा जानकारी लिनुका साथै पुल नहुँदा बेहोर्नु परेको समस्याका विषयमा स्थानीयसँग छलफल गर्नुभएको थियो । पुल नबन्दा आमजनताले हरेक दिन बेहोरिरहेको समस्या सुन्दा र आएका बेला आफैँले देख्दा आफूलाई दुःख लागेको बताउनु हुँदै मन्त्री घिसिङ आफू मन्त्री पदमा रहे पनि, नरहे पनि पुल निर्माणका लागि आवाज उठाइ रहने बताउनु भयो ।
रौतहटको दुर्गाभगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदीमा सात सय मिटर लामो पुल निर्माणका लागि २०७३ मा ठेक्का सम्झौता भएको थियो । त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने बडहर्वास्थित बागमती नदीमा ६३४ मिटर लामो पुल निर्माणका लागि पहिलो चोटि २०६७ सालमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले काम गर्न नसकेपछि पुरानो ठेक्का तोडी २०७९ सालमा पुनः नयाँ ठेक्का लगाइएको थियो ।