• २८ मङ्सिर २०८२, आइतबार

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

blog

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटायो । तस्बिर : रासस

वीरगञ्ज (पर्सा), मङ्सिर २८ गते । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।

मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताउनुभयो । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ  व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्”, महानगर प्रमुख सिंहले भन्नुभयो । 

यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताउनुभयो । यहाँबाट हटाइएकाहरूका लागि छपकैयास्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

आइतबार बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो । रासस