• ११ साउन २०८१, शुक्रबार

लक्ष्मी खोज्दै ‘महाराजा’

blog

निर्देशक स्वामिनाथन्को निर्देशकीय पक्षको जति तारिफ गरे पनि कम हुन्छ । उनले चलचित्र कस्तो निर्देशन गर्नु पर्छ र कुन दृश्य कहाँ हुनु पर्छ भन्ने कुरालाई एकदमै विचार 

गरेका छन् । सानो कथालाई उग्र रूप दिन उनी माहिर छन् ।  

काठमाडौँ, साउन ११ गते । सैलुन चलाउने व्यक्तिको बारेमा हो, महाराजा अर्थात् विजय सेतुपतिको कथा । जो आफ्नी छोरीसँग सहज तरिकाले जीवन बाँचिरहेको छ तर अचानक उनको जीवनमा केही यस्ता घटना आइपर्छन् जसलाई स्वयम् महाराजाले नै अनुमान लगाउन सक्दैनन् । 

विजय सेतुपति अभिनीत ‘महाराजा’ चलचित्रको कथा जोकोहीको कल्पनाभन्दा बाहिरको छ । दर्शकले सोचेभन्दा विल्कुलै फरक तरिकाले चलचित्र अघि बढ्छ । घरमा बावुछोरी घरको ‘लक्ष्मी’ चोरी भएपछि त्यसको खोजी गरिदिन प्रहरीको शरणमा पुग्छन् । बावुले आफ्नो घरको लक्ष्मी बेपत्ता भएको बताउँछन् । अब लक्ष्मी के हो ? कसले चो¥यो ? के भयो लक्ष्मीलाई ? यो नै हो महाराजाको कथा ।

जसरी लेखक तथा निर्देशक नितिलन स्वामिनाथन्ले चलचित्रको कथा पस्केका छन् र जहाँ उनले चोरी भएको वस्तु खोजीका लागि अनेकन् जुक्ति र बाटो देखाउन खोजेका छन्, त्यो बेजोड छ । चलचित्रमा दर्शकले अब यो दृश्य पछि यो हुन्छ भन्ने अनुमान लगाउन हम्मे हम्मे पर्छ । 

महाराजा विजय सेतुपतिको करियरको ५० औँ चलचित्र हो । चलचित्रबाट सेतुपतिको अभिनयले फेरि एक पटक तारिफ बटुल्ने काम गरेको छ । चल्तीकै आधारमा कलाकार बन्छु भनेर लागिपरेका आजको युगका कलाकारले सेतुपतिबाट अभिनयको पाठ पक्कै सिक्नु पर्छ । उनी महाराजाको चरित्रको गहिराइमा पुगेका छन् । मानौँ चलचित्रलाई माथि उठाउने भार उनको काँधमा मात्र छ । उनलाई अर्का कलाकार अनुराग कश्यपले पनि राम्रो साथ दिएका छन् । 

विजय सेतुपतिले महाराजाको चरित्रमा जीवन्तता ल्याएका छन्, उनको अभिनयलाई एक मास्टर क्लासका रूपमा लिन सकिन्छ, जहाँ शान्त रहनु पर्छ र जहाँ उग्र रूप देखाउनु पर्छ त्यहाँ कस्तो अभिव्यक्ति हुनु पर्छ विजयका अभिनयले देखाउँछ । उनले सबै कुरामा अचम्मको काम गरेका छन् । यस्तै अनुराग कश्यप एक राम्रो निर्देशक हुन् तर आजकल उनी अभिनयमा तरङ्ग मच्चाइरहेका छन्, सेल्बमको भूमिकामा उनले यति राम्रो काम गरेका छन् कि उनलाई घृणा गर्ने दर्शक छ भने पनि उनको तारिफ नै गर्छ । चलचित्रमा उनलाई नकारात्मक भूमिका एकदमै सुहाएको छ । आसिफाको भूमिकामा ममता मोहनदास अब्बल छ भने अन्य सबै पात्रले उत्कृष्ट अभिनय गरेका छन् ।

निर्देशक स्वामिनाथन्को निर्देशकीय पक्षको जति तारिफ गरे पनि कम हुन्छ । उनले चलचित्र कस्तो निर्देशन गर्नु पर्छ र कुन दृश्य कहाँ हुनु पर्छ भन्ने कुरालाई एकदमै विचार गरेका छन् । सानो कथालाई उग्र रूप दिन उनी माहिर छन् । चलचित्रमा धेरैको आँखा लक्ष्मीमा नै गाडिएको हुन्छ तर कथाले यस्तो मोड फेर्छ कि दर्शकले अनुमान नै लगाउन सक्दैनन् । चलचित्रले दर्शकलाई हाइकाढ्ने नबनाओस् भनेर निर्देशकले हरेक एकपछि अर्को दृश्यमा ‘ट्विस्ट’ देखाउँदै दर्शकलाई एक तमासले चलचित्रमा मात्र ध्यान पुर्याउने काम गरेका छन् ।