• १२ पुस २०८१, शुक्रबार

बदलियो शिक्षा, बदलिएन परीक्षा

blog

प्रा.डा. श्रीरामप्रसाद उपाध्याय 

सन् १७५७ मा सुधारको माग राख्दै भारतको मेरठ राज्यका सिपाहीले विद्रोह गरेका थिए । सिपाही मंगल पांडेले अङ्गेज अफिसर मारेर सुरु गरेको विद्रोह भारतभरि फैलियो । नेपाल तथा अन्य भारतीय राज्यहरूको सहयोगले विद्रोह दमन गरे पनि तत्कालीन गभर्नर जनरल केनिङले भारतमा शासन मात्र होइन, सुधार पनि गर्नुप¥यो भन्ने सोचका साथ अङ्ग्रेजी शिक्षाको प्रारम्भ गरेका थिए । त्यहीँ अङ्ग्रेजी शिक्षा थापाथली दरबारबाट बाहिर निस्कियो र दरबार स्कुल बन्यो । चन्द्रशमशेर प्रधानमन्त्री भएपछि यिनलाई कलेज खोल्ने चौतर्फी दबाब बढ्यो, सुनको साँचो र चाँदीको ताल्चाबाट त्रिभुवन चन्द्र कलेजको ढोका खुल्यो । दरबार स्कुलबाट प्रथम श्रेणीमा उत्तीर्ण भएका गङ्गालाल श्रेष्ठले त्रिभुवन चन्द्र (त्रिचन्द्र) कलेजको विज्ञान विषयमा प्रवेश पाए । सन् १९३४ मा एसएलसी बोर्डको स्थापना भएपछि नेपाली विद्यार्थीहरूले स्वदेशमै बसेर स्कुल लिभिङ सर्टिफिकेट परीक्षा दिन पाएका थिए । 

नेपालमा प्रजातन्त्र आएपछि विद्यालय शिक्षामा केटा र केटीको निम्ति छुट्टा छुट्टै पाठ्यक्रम लागू भयो । माध्यमिक तहमा केटीको निम्ति फस्ट एड एन्ड निडिल वर्क र डोमोस्टिक साइन्स अनिवार्य गरियो । यीबाहेक सबै विषय केटा र केटीको निम्ति सामान रूपमा अनिवार्य बनाइएका थिए, एक वर्षसम्म पढेका कुरा तीन घण्टामा अक्षरको रूपमा सेतो पानामा ओकल्नु पर्दथ्यो । केटा र केटीको निम्ति बनाइएका विभेदकारी पाठ्यक्रमको चाँडै अन्त्य भयो । माध्यमिक तहमा दुवैको निम्ति एउटै पाठ्क्रम लागू गरियो । सन् १९७१ (२०२८ साल) मा नयाँ शिक्षा लागू भए पनि विद्यालय तहको पाठ्यक्रममा कुनै परिवर्तन भएन । विगतका पाठ्यक्रमभन्दा माध्यमिक विद्यालयका पाठ्यक्रममा साधारण र व्यावसायिक गरी दुई धारका पाठ्यक्रम तयार गरिए– साधारण र व्यावसायिक धार । दुवै धारका अनिवार्य विषय सैद्धान्तिक नै थिए । यी दुवै धारका मूल्याङ्कन पद्धति पनि समान थिए । 

नयाँ शिक्षा पद्धति भनिए पनि पुरानो एसएलसी परीक्षाले निरन्तरता पाइनै रह्यो । पुरानै ढाँचाका प्रश्नपत्र र मूल्याङ्कनका आधार, सेना र प्रहरीको निगरानी, त्रासमय वातावरण, पचाउन नसकिने विषय र विषयवस्तुको भार, थिचिएको मनस्थिति, दस वर्षसम्मको निरन्तर परीक्षा, त्यसमा पनि झन्डै आधा विद्यार्थी असफल । फेरि तिनै विद्यार्थी असफलताको बोझ दिमागमा बोक्दै पुनः परीक्षाको अभ्यासमा झोसिए । उच्च माध्यमिक शिक्षालाई विद्यालय शिक्षामा गाभेपछि स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) लाई माध्यमिक शिक्षाको परीक्षामा रूपान्तरण गरियो । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीबाट बालबालिका नराम्ररी प्रभावित भएका थिए । यस्तो अवस्थामा फेस टु 

फेस पठन पाठन र परीक्षाको ठाउँमा वैकल्पिक शिक्षाको 

व्यवस्था गरियो । 

अनलाइन शिक्षाको प्रभावकारितामा प्रश्नचिह्न लागे पनि यसलाई निर्विकल्प माध्यमका रूपमा प्रयोग गरियो । एसएलसी परीक्षाका विकल्प खोज्न थालियो । अनलाइन परीक्षा सञ्चालन गर्ने हो कि भन्नेजस्ता विचार पनि अगाडि आएका थिए । पछि सबभन्दा उत्तम उपायको रूपमा एसईई परीक्षाको सट्टा विद्यार्थीका विद्यालयका अघिल्लो परीक्षाको नतिजा आधार मान्ने निष्कर्षमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको थियो । त्यसैको आधारमा दुई–दुई पटक एसईई परीक्षाबिना नै अघिल्लो परीक्षाको नतिजाको आधारमा विद्यार्थी उत्तीर्ण गरिए । आजबाट एसईई परीक्षा परम्परागत शैलीमा सरकारी रेखदेखमा हुँदैछ । अघिल्लो परीक्षा परिणाम मान्ने व्यवस्था लागू भइसकेको अवस्थामा फेरि पुरानै शैलीमा एसईई परीक्षा लिइँदा विद्यार्थीमा पर्न गएको नकारात्मक प्रभावको सहजै अनुमान गर्न सकिन्छ । 

विभिन्न क्षेत्रबाट एसईई परीक्षाको विकल्पको खोजी भइरहँदा यसलाई निरन्तरता दिइनैराख्ने कामलाई राम्रो मान्न सकिँदैन । जे भए पनि विद्यार्थी तथा अभिभावकले एसईई परीक्षालाई स्वीकार गर्नु नै पर्ने हुन्छ । एसईई परीक्षाका विशिष्टिकरण तालिका र नमुना प्रश्न व्यावहारिकभन्दा सैद्धान्तिक रहेका छन् । विद्यार्थीले निर्धारित समयमा सबै प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । त्यसै हुनाले प्रश्नको उत्तर लेख्नुभन्दा पूर्व उक्त प्रश्नको उत्तरको निम्ति कति समय निर्धारण गर्ने हो भन्ने विषयमा विचार गर्नुपर्ने हुन्छ । यस्तो अभ्यास परीक्षा पूर्व बारम्बार गर्नुपर्छ । 

कुनै प्रश्नको उत्तर लेख्दा शीर्ष मागमा समय लेख्ने र उत्तर सकिएपछि पनि समय लेख्ने अभ्यास निरन्तर गर्नाले छिटछिटो लेख्ने र सोच्ने बानीको विकास हुन्छ । 

समय नपुगेर कतिपय विद्यार्थीले प्रश्नको जवाफ आए पनि लेख्न भ्याएका हुँदैनन् । यसको निम्ति विद्यार्थीले घर र विद्यालयमा छिटछिटो लेख्ने बानीको अभ्यास गर्नुपर्छ । प्रश्न पत्र निर्माणकर्ताले पनि कुन प्रश्नको जवाफ कति समयसम्म लगाउनुपर्ने हो । उक्त प्रश्नको जवाफमा कति अङ्क पाउनुपर्ने हो प्रश्नपत्रमा नै स्पष्ट रूपमा लेख्नुपर्छ । प्रश्नमा छोटकरीमा लेख्नु भन्नेजस्ता वाक्य लेख्नु हँुदैन किनभने छोटकरी भन्ने शब्दको कुनै मापन हँुदैन । प्रश्नबाट नै छोटकरी वा लामो कस्तो प्रश्न हो भन्ने छुट्टिन्छ । प्रश्नमा मापन गर्न नसकिने शब्दावलीको प्रयोग गरिनु हँुदैन । 

शिक्षामा सुधार भए पनि परीक्षामा सुधार हुन सकेको छैन । सङ्घीय संरचनाअनुसार परीक्षा सञ्चालन गर्ने सम्पूर्ण जिम्मा सङ्घ र प्रदेशलाई दिनुपर्छ । सबै प्रश्न र उत्तर समुदायमा आधारित अनुसन्धानमूलक र प्रयोगात्मक हुनु पर्दछ । यसको सम्पूर्ण जिम्मा विषय शिक्षकलाई दिनुपर्छ । परीक्षामुखी शिक्षा हुँदा परीक्षामा सुधार नगरी शिक्षामा सुधार हुन सक्दैन । त्रुटिपूर्ण परीक्षाले गर्दा विद्यार्थी पुस्तकका भारी बोकेर विद्यालय जान बाध्य भएका मात्र छैनन् असफलसमेत हुँदै आएका छन् । 




Author

प्रा.डा. श्रीरामप्रसाद उपाध्याय