• ५ भदौ २०८२, बिहिबार

सशक्तीकरणको प्रतीक तिज

blog

नेपालका विभिन्न पर्वमध्ये लोकप्रिय एउटा पर्व तिज हो । यस पर्वको इतिहास खोज्दै जाने हो भने सृष्टिको आदिम युगसम्म पुग्नुपर्ने हुन्छ । जुन कुराको पुष्टि पौराणिक ग्रन्थमा उल्लेख भएका तथ्यबाट हुन्छ । ती ग्रन्थका आधारमा तिज पर्वको इतिहास यस सृष्टिका संहारकर्ता भगवान् शिवसँग जोडिएको छ । पर्वतपुत्री पार्वतीले तिनै भगवान् शिवलाई पति बनाउन पाउँ भनेर गरेको तपस्यासँग जोडिएको छ । यस पर्वलाई अहिलेसम्म पनि त्यस्तै प्रकृतिलाई ध्यानमा राखेर मनाउने गरिएको छ । यस्तो पृष्ठभूमिबाट जन्मिएको यो पर्व त्यो युगदेखि आजको युगसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । के कस्ता पाटामा परिवर्तन भएको छ भनेर सबै कुरा यस आलेखमा समेट्न सम्भव छैन । जे जस्ता परिवर्तन भएका छन्, ती विवरण राखी तिनको विवेचना गर्नु सान्दर्भिक हुन्छ । 

पहिले पहिले नेपाली समाजमा कन्याले आफूले मन पराएको केटोसँग विवाह गर्न पाउँदैनथे । पार्वतीले जस्तै फलानो केटोलाई ‘श्रीमान् बनाउन पाऊँ’ भनेर आफ्नो जीवन स्वतन्त्रताको उपभोग गर्न पाउँदैनथे । आफ्ना अभिभावकले जसलाई रोजेर विवाह गरिदिए ती कन्याले त्यसैसित विवाह गरेर जिन्दगी बिताउनुपर्ने बाध्यता थियो । केटो नरुचाएर छाड्न हुँदैनथ्यो । माइतीको इज्जत जोगाउनु पर्छ भनेर पाठ सिकाइदिएका कारण आफ्नो जीवनलाई आगोमै जलाए पनि सहेर प्राण धान्नुपथ्र्यो । यही कुराको पुष्टिका निम्ति त्यस बेलाका चेलीले गाएको र लोकमा प्रचलित तिजे गीतहरूलाई प्रमाणका रूपमा लिन सकिन्छ । जस्तै : 

कुटु कुटु पेट काट्यो यै भदौरे गाबाले

कङ्गाली हेरेर दियौ बाबाले 

वर्षभरि यस्ता कठिन दिन बिताएका चेलीहरू आफ्नो माइतीघरमा आउँदा स्वतन्त्रताको पूर्ण अनुभव गर्थे । निर्भयले उनीहरूको मनमस्तिष्कमा बास गथ्र्यो । सासूले पकाएको खोलेफाडो खाएर वर्षदिन बिताएकी ती दुःखी चेलीले आमाले पकाएको दर खान पाउँदा हर्षविभोर हुन्थे । माइत आएका सबै चेलीले आफूभित्र गुम्सिएका वर्षभरिएका पीडा आँगनमा बसेर तिजका गीतको माध्यमबाट निर्भयपूर्वक प्रस्तुत गर्थे । ती दुःख तथा वेदना माइतीले सुनेर विरक्तको अनुभव गर्थे । 

नेपाली समाजमा समयको परिवर्तनसँगै तिजको संस्कृतिमा पनि परिवर्तन आयो । शिक्षा, राजनीति, सञ्चार, यातायातका क्षेत्रमा विकास हुन थालेपछि नेपाली चेलीका मनमस्तिष्कमा पनि क्रमशः परिवर्तन आयो । तिनका मनमा उत्साहले वास ग¥यो । जोस तथा जाँगरले स्थान ओगट्यो । माइती घरमा मात्र आएर स्वतन्त्रताको उपयोग गर्ने बुहारीले श्रीमान्का घरमा नै आफ्नो स्वतन्त्रताको उपयोग गर्ने हिम्मत गर्न थाले । माइतीघरमा साक्षर बनेका चेली विवाहपछि पनि श्रीमान्का घरमा बसेर पढ्न जाने हिम्मत गर्न थाले । अनेक सास्ती दिने कर्री सासूलाई पनि थर्काएर आफ्नो भविष्य उज्यालो बनाउनेतिर आफूलाई केन्द्रित गराउन थाले । आफ्नै श्रीमान्का घरमा कर्री सासूलाई तहमा ल्याउने र आफ्नो स्वतन्त्रता उपयोग गरेको प्रमाण लोकसमाजमा प्रचलित तिजका गीतले पनि पुष्टि गरेका छन् । जानकारीका निम्ति लोकसमाजमा व्यापक रूपमा प्रचलित रहेको तिजको गीतलाई हेर्न सकिन्छ । जस्तै :

दाहिने हातमा कापीकलम, देब्रे हातमा रेडियो

उठ बज्यै दैलो लिप पढ्न हिँडियो ।

त्यो पुरानो युगमा सासूससुराको नियमको बन्धनमा जकडिएका चेलीहरूले समयको परिवर्तनका कारण पढाइप्रति रुचि बढाउन थाले । सामाजिक सचेतता बढ्दै गयो । नारीहरूका मनस्थितिमा परिवर्तनको गति बढ्यो । उनीहरूमा राजनीतिक चेतना वृद्धि भयो । यति मात्र होइन । आधुनिक समयमा महिलाले आफैँ कमाएर आफूलाई आर्थिक रूपमा पनि सबल बनाउन थाले । उनीहरू शैक्षिक, आर्थिक अनि राजनीतिक रूपले पनि सबल र सचेत बन्न थाले । यसको परिणाम आधुनिक युगका नारीहरूले  तिज संस्कृतिलाई युगानुकूल परिवर्तन गर्दै उपयोग गर्न थाले । 

“राम्रो पति पाऊँ, पतिको आयु वृद्धि होस्” भनेर पहिले पहिलेका नारीहरूले तिजमा भोकभोकै व्रत बसेर पूजाआजा गर्थे । यस्तै प्रकारका पुराना असजिला परम्परालाई नेपाली सचेत नारीहरूले व्रmमशः छाडेर नयाँ ढङ्गले तिजको संस्कृतिलाई व्यवहारमा उतारिरहेका छन् । टाढा बसेका चेली एक ठाउँमा जम्मा भएर आधुनिक तरिकाले  तिज मनाउँछन् । जागिर, व्यापारलगायतका काममा व्यस्त दिदीबहिनी रङ्गीचङ्गी कपडा लगाएर एक ठाउँमा जम्मा हुन्छन् । मिठा परिकार खान्छन् । तिजका गीत गाउँछन् । तिनै गीतमा छमछम नाच्छन् । आफ्ना वर्षभरिका प्रगति र दुर्गतिका कुरा पनि साटासाट गर्छन् । 

आधुनिक सन्दर्भमा  तिज मनाउने परम्परामा केही फरकपन भित्रिँदै गएको छ । सशक्तीकरणको बलियो सम्भावना बोकेको  तिज सचेत रूपमा उपयोग गरियो भने महिला सशक्तीकरणको प्रभावकारी आधार बन्न सक्छ । सकारात्मक धारबाट नियाल्दा महिलाका लागि आत्मीयता, सहकार्य र सशक्तकीरणको स्रोत हो,  तिज पर्व । नकारात्मक धारबाट नियाल्दा विभिन्न टीकाटिप्पणीको सामना पनि झेल्नु परेको छ । भड्किलो प्रदर्शन आर्थिक विभेद, सतही मनोरञ्जनको जोखिम मोल्दै छ है आधुनिक तिजले भनेर व्यक्तिगत अभिव्यक्ति दिने पनि छन् तर म भन्छु, प्रकृति र पुरुष दुई धारबाट नियाल्दा प्रकृतिसँग महिलालाई दाजिन्छ । प्रकृति आफैँमा सुन्दर पक्ष हो । तसर्थ प्रकृतिको अनु्पम उपहार नारी सुन्दरताको खानी हो । बाहिरी र भित्री रूपबाट हेर्दा उनले उठाएको बोझ, समर्पण, त्याग र सहनशीलता मायाको खानी नारीभित्र समाहित छ । बाहिरी आँखाले मात्र नियालेर हेर्नु हँुदैन । आवरण र वेशभूषाप्रति व्यङ्ग वाणको प्रहार खपेर हिँड्ने साहस नारीमा छ । त्यसैले नारी धर्ती हो नारी त्याग र बलिदानको प्रतिमूर्ति हो । मात्र दुई–चार दिन आफू साथीभाइ, सरसङ्गत, इष्टमित्र, अफिसका सहकर्मी सङ्घ संस्थामा आबद्ध महिलाले आफू खुसी भई रमाउनुलाई नकारात्मक चस्माको दृष्टिबाट नियाल्नु दृष्टि दोष त हैन ?

आफू खुसी भइएन भने आफूसँग जोडिएको सारा नातालाई खुसी पार्न सकिँदैन । तसर्थ आजकी नारी केवल तडकभडकमा मात्र हैन, साथीभाइ जम्मा भएर मिठो मसिनो सँगै बसेर खाने दरसँग मात्र नदाजौँ । आजकल  तिज मनाउँदा एकछिन भए पनि सशक्तीकरणका सन्देश प्रहसन प्रशिक्षण पनि समावेश गरी फरक ढङ्गबाट मनाउन लागिएको छ  ।

यति मात्र होइन हाम्रा नाचगान, बाजागाजा, मादल, मारुनी, तिज, दसैँ, तिहार, भैली र रत्यौली आदि जस्ता परम्पराको आफ्नै मौलिकता छ । ती सबैको जर्गेना र संवर्धन गर्न महिलालाई राम्रोसँग आउँछ, गरेका पनि छन् । संस्कार र संस्कृति जोगाउने कार्य हरेक घरमा महिलाले नै गर्दै आएका छन् । आधुनिक  तिज परम्परागत चल्दै आएको समाजमा सामाजिक परिवर्तनका रूपमा सामाजिक सन्देश दिने गीत, सङ्गीत, नृत्य, महिला हिंसा, लैङ्गिक समानता र आर्थिक स्वतन्त्रता जस्ता विषय समावेश हुन थाल्नु परिवर्तनको सुचक मान्नु पर्छ । स्वस्थ्यलाई ध्यानमा राखेर व्रत बस्ने र नबस्ने स्वतन्त्र निर्णय लिने अधिकार महिलालाई नै छ, शास्त्रलाई होइन । पानीको घुट्को पनि पिउन नहुने परम्परालाई तोड्दै स्वास्थ्यको ख्याल गर्ने र स्वनिर्णय लिने चलन बढेको छ । यसलाई सकारात्मक तरिकाले पनि हेर्नु पर्छ । 

आधुनिक तिजको सन्दर्भमा देखिएका सकारात्मक पक्ष धेरै छन् । महिला नेटवर्किङ, जमघट र सहकार्यको प्लेटफर्म विभिन्न पेसामा आबद्ध राजनीति र व्यवसायमा संलग्न महिलाबिच आपसी अन्तर सम्बन्ध बलियो बनाउने अवसर पनि हो  तिज । विदेशमा रहेका नेपाली महिलाले पनि तिजलाई सांस्कृतिक परिचयका रूपमा चिनाएका छन् । जसले गर्दा नेपाली संस्कृति वेशभूषा अन्तर्राष्ट्रिय स्तरमा समेत फैलिएको छ । तिजलाई वास्तविक अर्थमा महिला अधिकार, समानता र सांस्कृतिक गौरवको पर्व बनाउन समाजको सामूहिक जिम्मेवारी अपरिहार्य छ ।  तिज नेपाली महिलाको महìवपूर्ण पर्व नै हो । जसले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक एकता र सांस्कृतिक गौरवलाई एकसाथ समेट्छ । आधुनिक समयमा तिजको संस्कृतिलाई केही तडकभडक र विकृतिले पनि गाँज्न थालेको छ । कतिपयले आधुनिकतालाई नबुझेर तीजको संस्कृति पुरानै खालको हुनु पर्छ भनेर छाती पिटेको पनि देखिन्छ । समयको गतिलाई नचिनेर परम्परागत गतिहीन युगलाई बोकेर हिँड्दा प्रगति हुँदैन भन्ने पुरातनवादीले बुझ्नु पर्छ । 

आधुनिक नारीहरूले आफूलाई शैक्षिक, आर्थिक, राजनीतिकलगायतका विभिन्न पाटामा क्रमशः सबल बनाइरहेका छन् । त्यस्ता नारीहरू कामका व्यस्तताबिच एकछिन भए पनि साथीभाइसित भेटघाट गरी मन बहलाउन तिजको अवसर पारेर दरखाने नाममा जुटेका छन् । अहिले होटेल तथा पार्टी प्यालेसमा गरिएका इष्टमित्रसितका त्यस्ता दरखाने कार्यलाई कतिपयले नकारात्मक टिप्पणी गरेको पनि यदाकदा सुनिएको छ । यस पर्वलाई कमाउने र रमाउने पर्वका रूपमा उपयोग गर्दा तिजको संस्कृतिमा विकृति आयो भन्न मिल्दैन । समयले ल्याएको संस्कृतिलाई कसैले पनि लत्याउन सक्दैन ।  तिज परम्परा मात्र होइन सशक्तीकरणको प्रतीक पनि हो । केवल संस्कार मात्र होइन उन्नतिको शिक्षा दिने सांस्कृतिक वैभव पनि हो । यिनै कुरालाई ध्यानमा राखेर तिजलाई समयानुकूल व्यवहारमा उतार्ने हो भने आधुनिक सन्दर्भमा तिजको सांस्कृतिक महìव सार्थक हुने छ ।